काठमाडौं:धनगढीमा सत्याग्रह गरिरहेका डा. गोविन्द केसीको अनशनलाई सहमतिमार्फत टुङ्ग्याउन सरकारले सक्रियता बढाएको छ ।
डा. केसीसँग वार्ताका लागि थप दुई जना सरकारी प्रतिनिधि आइतबार (आज) धनगढी पुगेका छन् ।प्रधानमन्त्री बालेन शाहका स्वास्थ्य सल्लाहकार जे.पी.अग्रवाल र स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयका सचिव डा. विकास देवकोटा हवाई जहाजमार्फत धनगढी पुगेका हुन् ।यसअघि नै शिक्षा तथा खेलकुद मन्त्रालयका सचिव चूडामणि पौडेल शनिबार धनगढी पुगिसकेका छन् ।शिक्षामन्त्री सस्मित पोखरेलले शुक्रबार साँझ डा. केसीसँग टेलिफोन संवाद गरेपछि मन्त्रीकै निर्देशनमा सचिव पौडेललाई वार्ताका लागि धनगढी पठाइएको थियो ।धनगढी पुगेको सरकारी टोलीले आजै डा. केसीका प्रतिनिधिहरूसँग वार्ता गर्ने तयारी गरेको छ ।
सरकारले वार्ता र संवादका माध्यमबाट डा. केसीको अनशनको सहमतिपूर्ण निकास खोज्ने प्रयास गरिरहेको बुझिएको छ ।अनशनका कारण स्वास्थ्यमा समस्या देखिएपछि डा. केसीलाई शनिबार नै चिकित्सकको सल्लाहमा सेती प्रादेशिक अस्पतालमा भर्ना गरिएको छ ।अस्पतालमै रहेका डा. केसीसँग सरकारी टोलीले मागका विषयमा केन्द्रित रहेर छलफल अगाडि बढाउनेछ ।
