झापा:पूर्वपश्चिम राजमार्गअन्तर्गत काँकरभिट्टा–लौकही सडक विस्तार तथा स्तरोन्नति आयोजनाले पछिल्लो समय उल्लेखनीय गति लिएको छ ।
एसियाली विकास बैंक (एडिबी)को ४६ अर्ब रुपैयाँ ऋण सहयोगमा निर्माण भइरहेको आयोजनाअन्तर्गत पूर्वी खण्डमा धमाधम कालोपत्र गर्ने काम अघि बढाइएको हो । सडक विभागअन्तर्गतको आयोजना निर्देशनालयमार्फत ९५(पन्चान्नब्बे)किलोमिटर लामो सडकलाई पाँच प्याकेजमा विभाजन गरी निर्माण भइरहेको छ ।आयोजनालाई पूर्वी र पश्चिमी गरी दुई खण्डमा बाँडिएको छ । पूर्वी खण्डमा काँकरभिट्टादेखि झापाको सीतापुरीसम्म ४५ किलोमिटर तथा पश्चिमी खण्डमा सीतापुरीदेखि सुनसरीको लबीपुरसम्म ५० किलोमिटर सडक पर्छ ।आयोजनाको पछिल्लो प्रगति विवरणअनुसार पहिलो प्याकेज (काँकरभिट्टा–सीतापुरी)मा ४७ प्रतिशत, दोस्रो प्याकेज (सीतापुरी–गोठगाउँ)मा ४२ प्रतिशत र तेस्रो प्याकेज (गोठगाउँ–लबीपुर)मा १९(उन्नाइस)प्रतिशत भौतिक प्रगति भएको छ ।
काँकरभिट्टा–लौकही सडक योजना (पूर्वी खण्ड)का प्रमुख सुनीलबाबु पन्तका अनुसार हालसम्म पूर्वी खण्डमा १६.५ किलोमिटर सडकमा पहिलो तहको कालोपत्र सम्पन्न भइसकेको छ । मौसमले साथ दिए दैनिक ४०० देखि ८०० मिटरसम्म कालोपत्र गर्न सकिने उनले बताए ।उनका अनुसार निर्माण व्यवसायीसँग पर्याप्त बिटुमिन मौज्दात रहेकाले आगामी दसैँसम्म थप १५ किलोमिटर सडकमा पहिलो तहको कालोपत्र सम्पन्न गर्ने योजना छ । वर्षायामका कारण केही अवरोध भए पनि निर्माण कार्य भने निरन्तर जारी रहेको जानकारी उनले दिए ।विक्रम संवत २०८० माघदेखि सुरु भएको यो आयोजना २०८३ माघ १८ गतेभित्र सम्पन्न गर्ने लक्ष्य राखिएको छ । हाल सडकको बीच भागमा तीन मिटर चौडाइको डिभाइडर निर्माणसँगै दुवैतर्फ सडक विस्तारको काम समानान्तर रूपमा भइरहेको आयोजनाले जनाएको छ ।
