एजेन्सी:भारतको हिमाचल प्रदेशमा शुक्रबार पहिरोमा जिप पुरिँदा १३ जनाको मृत्यु भएको छ ।
दुई जना घाइते भएका छन् ।लाहौल–स्पिती र पांगी क्षेत्र जोड्ने उदयपुर–किलाड सडकअन्तर्गत कडु नाला नजिकै कुल्लुबाट पांगीतर्फ जाँदै गरेको टाटा सुमोमाथि अचानक पहिरोसँगै ठूलो ढुंगा खसेपछि दुर्घटना भएको भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन् । दुर्घटनामा १३ जनाको घटनास्थलमै मृत्यु भएको लाहौल–स्पितीकी प्रहरी अधिकृत शिवानी मेहलाले पुष्टि गरेकी छन् । घाइते दुई जनाको उपचार भइरहेको छ ।घटनाप्रति हिमाचल प्रदेशका मुख्यमन्त्री सुखविन्दर सिंह सुक्खुले गहिरो दुःख व्यक्त गरेका छन् । उनले सामाजिक सञ्जाल इन्स्टाग्राममार्फत शोक सन्देश जारी गर्दै मृतकप्रति श्रद्धाञ्जली अर्पण गरेका छन् भने शोकाकुल परिवारप्रति समवेदना प्रकट गरेका छन् ।
मुख्यमन्त्री सुक्खुले प्रियजन गुमाउनुको पीडा शब्दमा व्यक्त गर्न नसकिने उल्लेख गर्दै दिवंगत आत्माको चिरशान्तिको कामना गरेका छन् । साथै, उनले घाइतेहरूको उपचारमा कुनै कमी हुन नदिन लाहौल–स्पितीका स्थानीय प्रशासन र सम्बन्धित अधिकारीहरूलाई तत्काल आवश्यक व्यवस्था मिलाउन निर्देशन दिएका छन् ।मनसुन सक्रिय भएसँगै हिमाचल प्रदेशका विभिन्न पहाडी क्षेत्रमा लगातार पहिरो खस्ने क्रम बढिरहेको छ । सडक यात्रा जोखिमपूर्ण बन्दै गएको अवस्थामा प्रशासनले अत्यावश्यकबाहेक पहाडी मार्गमा यात्रा नगर्न सर्वसाधारणलाई आग्रह गर्दै आएको छ ।
