झापा: भारतबाट नेपालतर्फ आउँदै गर्दा दुई महिनाको शिशुको डायपरमा लुकाएर लागुऔषध ब्राउन सुगर (खैरो हेरोइन) भित्र्याउने प्रयास गरेको आरोपमा दम्पतीसहित चार जनालाई झापाको भद्रपुरबाट प्रहरीले पक्राउ गरेको छ ।
जिल्ला प्रहरी कार्यालय झापाका अनुसार बिहीबार साँझ ५ः१५ बजेतिर भद्रपुर नगरपालिका–५ स्थित बसपार्कमा वडा प्रहरी कार्यालय भद्रपुरबाट खटिएको प्रहरी टोलीले भारतबाट नेपालतर्फ आउँदै गरेको मे १ ह ५०११ नम्बरको अटो रोकेर चेकजाँच गरेको थियो । जाँचका क्रममा अटो चालक भारतको किशनगञ्ज जिल्ला–१२ घर भई हाल झापाको बिर्तामोड नगरपालिका–५ बस्दै आएका ३० वर्षीय मोहित आलम, उनकी ३२ वर्षीया श्रीमती जेनेतुन खातुन, उनीहरूका दुई महिनाका छोरा सोहेल आलम तथा सोही अटोमा सवार ३८ वर्षीय मोहमद तजरुल पक्राउ परेका हुन् ।
प्रहरीका अनुसार शिशु सोहेल आलमले लगाएको डायपरभित्र प्लास्टिकको पोका बनाई लुकाइछिपाइ राखिएको अवस्थामा ब्राउन सुगर फेला परेको हो । उनीहरुबाट ८ ग्राम ९४ मिलिग्राम ब्राउन सुगर बरामद भएको प्रहरीले जनाएको छ ।घटनापछि प्रहरीले अटोसहित चारै जनालाई नियन्त्रणमा लिई वडा प्रहरी कार्यालय भद्रपुरमा राखेको छ । घटनाका बारेमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
