विराटनगर :अवैध रूपमा भन्सार छली गरी नेपाल भित्र्याइँदै गरिएको १४ लाख बढीको अवैध सामान सशस्त्र प्रहरीले मोरङबाट बरामद गरेको छ ।
सशस्त्रका अनुसार १४ लाख १२ हजार ३ सय रुपैयाँ बराबरका लत्ताकपडा र हरियो तरकारी बरामद गरिएको हो ।भारतदेखि तस्करी गरेर नेपाल भित्राइएका लत्ताकपडा र तरकारी अलग–अलग नाकाबाट बरामद गरिएको सशस्त्र प्रहरी बल मोरङका प्रमुख एसपी गेहेन्द्रबहादुर भण्डारीले बताए । उनका अनुसार सीमा सुरक्षा गुल्म रानीबाट खटिएको टोलीले भारतबाट तीनवटा मोटरसाइकलमा लोड गरेर ल्याइँदै गरेको १२ लाख २७ हजार ३ सय रुपैयाँ बराबरको लत्ताकपडा बिहीबार नियन्त्रणमा लिएको हो ।
यस्तै, बीओपी दरैयाबाट खटिएको मोबाइल गस्ती टोलीले एउटा सीटी सफारीमा अवैध रूपमा ल्याइँदै गरिएको एक लाख ८५ हजार रुपैयाँ बराबरको हरियो तरकारी बरामद गरेको जानकारी भण्डारीले दिए । बरामद गरिएका तीनवटा मोटरसाइकल, सिटी सफारी तथा कपडा र तरकारी आवश्यक कारबाहीका लागि विराटनगर भन्सार कार्यालय बुझाइएको उनले बताए ।
