०५ साउन २०८३, मंगलबार

अविरल वर्षा र पहिरोले देशका विभिन्न प्रमुख राजमार्गमा यातायात सेवा आंशिक तथा पूर्ण प्रभावित

Logo
Pulse Khabar मंगलबार, साउन ०५, २०८३

काठमाडौँ: लगातारको वर्षापछि आएको बाढी र पहिरोका कारण देशभर सात प्रमुख राजमार्ग पूर्ण रूपमा तथा १२ राजमार्ग आंशिक रूपमा प्रभावित भएका छन् ।

सडक विभागले अवरुद्ध भएका सडकखण्डमध्ये ५१ सडक मर्मतपछि पुनः सञ्चालनमा आइसकेका छन् भने बाँकी सडक खुलाउने काम तीव्र रूपमा भइरहेको जनाएको छ । विभागका प्रवक्ता श्यामबहादुर खड्काले पहिरोका कारण अवरुद्ध सडक खुलाउन सम्बन्धित स्थानमा डोजर, एक्साभेटर, लोडरलगायत उपकरण परिचालन गरी मर्मत तथा पहिरो पन्छाउने कार्यलाई तीव्रता दिइएको जानकारी दिनुभयो । उहाँले यात्रुहरूलाई यात्राअघि सम्बन्धित निकायबाट सडकको पछिल्लो अवस्थाबारे जानकारी लिएर मात्र यात्रा गर्न आग्रह गर्नुभयो । नेपाल प्रहरीका अनुसार ललितपुरस्थित कान्तिलोकपथ, इलामको मेची राजमार्ग, खोटाङको दिक्तेल–भोजपुर सडकखण्ड, सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका–४ जुरिखोला (तातोपानी जाने बाटो) तथा भोटेकोशी–२ कोदारीस्थित अरनिको राजमार्ग पहिरोका कारण पूर्ण रूपमा अवरुद्ध छन् ।

यस्तै भोजपुर नगरपालिका–५ बोखिमस्थित मध्यपहाडी लोकमार्ग र रसुवाको पासाङल्हामु सडकखण्ड एकतर्फी सञ्चालनमा रहेका छन् । काभ्रेपलाञ्चोक–सिन्धुली जोड्ने बिपी राजमार्गमा सम्भावित बाढीको जोखिमलाई मध्यनजर गर्दै रातिको समयमा सवारी आवागमन रोकिएको छ । उक्त सडकमा बिहान ४ः०० देखि साँझ ६ः०० बजेसम्म भने अवस्थाअनुसार सवारी सञ्चालन गर्ने व्यवस्था गरिएको छ ।त्यसैगरी, मकवानपुरस्थित कान्तिलोकपथमा पनि सम्भावित बाढी तथा पहिरोको जोखिमका कारण रातिको समयमा सवारी सञ्चालनमा रोक लगाइएको नेपाल प्रहरीले जनाएको छ ।सडक विभागले मनसुन अवधिभर जोखिमयुक्त सडकमा निरन्तर निगरानी गरिरहेको र अवरुद्ध सडक यथाशीघ्र सञ्चालनमा ल्याउन आवश्यक जनशक्ति तथा उपकरण तयारी अवस्थामा राखिएको जनाएको छ ।

प्रतिक्रिया
हाम्रो बारे

श्री पल्स खबर प्रा लि
बिराटनगर – ५,मोरंग।
९८५२०२०७५७

[email protected]

सूचना प्रसारण विभाग

दर्ता प्रमाणपत्र नम्बर: ५०६५-२०८१/२०८२

टीमहरु

कार्यकारी निर्देशक : नवलप्रसाद उपाध्याय

सम्पादक  : नविन पहाडी

कार्यकारी सम्पादक : शशांक पौडेल

प्रमुख सम्वाददाता : सौरभ फुयल

बजार व्यवस्थापक :संजोग पौडेल

 

 

सम्पर्क

बिज्ञापनको लागी:

9862006206