

काठमाडौ । नेपाल सरकारको तथ्यांक भन्दा सयौँ गुणा बढी रुसी सेनामा भर्ना भएको अमेरिकी सञ्चारमाध्यम सीएनएनले दाबी गरेको छ । नेपालबाट १५ हजार जना नेपाली रुसी सेनामा भर्ना भएको हालै सीएनएनले खबर सार्वजनिक गरेको हो । रुसी सरकारले गएको वर्ष विदेशी लडाकुलाई देशको सेनामा भर्ना हुनका लागि आकर्षक प्याकेज घोषणा गरेपछि नेपालीहरु आकर्षित भएको सो खबरमा उल्लेख छ । रुसले विदेशीका लागि महिनामा कम्तीमा दुई हजार अमेरिकी डलर तलब र चाँडोभन्दा चाँडो रुसी राहदानी (पासपोर्ट) दिने प्याकेज ल्याएको थियो । यता नेपाल सरकारले भने झन्डै दुई सय नागरिक रुसी सेनामा भर्ना भएको र युद्ध क्षेत्रमा कम्तीमा १३ जनाको ज्यान गएको बताएको छ । परराष्ट्र मन्त्रालयका अनुसार युक्रेनले अहिले चार जना नेपालीलाई युद्धबन्दी बनाएको छ । रुसी सेनामा कति नेपाली भर्ना भएका छन् र अहिलेसम्म कति जनाको ज्यान गएको भन्ने प्रश्नमा रुसी विदेश मन्त्रालयले कुनै जवाफ नदिएको सीएनएनले जनाएको छ । रुसी सेनामा भर्ना हुन चाहने नेपाली पहिले पर्यटक भिसामा रुस जाने गरेका र धेरैजसोले यूएई वा भारत हुँदै गएको बताएका छन् । मस्को पुगेपछि एक वर्षको सम्झौतामा हस्ताक्षर हुने र भर्ना हुनेहरूको रुसी बैंक खातामा कम्तीमा दुई हजार डलर जम्मा गरिने र कतिपयले त महिनामा चार हजार डलरसम्म कमाएको बताउँछन् । रुसी सेनामा भर्ना भएका कतिपय नेपालीले लडाइँमा पठाइनुअघि सामान्य तालिम मात्र लिएको बताएका छन् । नेपालीलाई लड्न पठाउनुअघि यस्तो छोटो प्रशिक्षण अवधिले रुसी सरकारको उदासीनता र अग्रपङ्क्तिमा मानव संशाधनको आवश्यकता देखिने नेपाली सेनाका अवकाशप्राप्त उपरथी एवम् रणनीतिक विश्लेषकको रूपमा कार्यरत बिनोज बस्न्यात बताउनुहुन्छ ।