३२ आषाढ २०८३, बिहिबार

हर्मुज नियन्त्रणका लागि अमेरिका-इरानबीच भिडन्त तीव्र, इरानद्वारा जलमार्ग बन्द गर्ने चेतावनी

Logo
Pulse Khabar बिहिबार, आषाढ ३२, २०८३

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरान वार्तामा नफर्किए थप कडा सैन्य कारबाही गर्ने चेतावनी दिइरहेका बेला संयुक्त राज्य अमेरिकाले बुधबार हर्मुज जलघाँटी क्षेत्रमा इरानको सैन्य क्षमता लक्षित गर्दै नयाँ हवाई आक्रमण सुरु गरेको छ ।

यससँगै करिब एक महिनाअघि भएको अमेरिका–इरान समझदारीपछि रोकिएको प्रत्यक्ष सैन्य टकराव फेरि तीव्र बनेको छ ।अमेरिकी सेन्ट्रल कमान्डका अनुसार आक्रमण १९ः०० जीएमटीदेखि सुरु गरिएको हो । हर्मुज जलघाँटी हुँदै स्वतन्त्र रूपमा आवतजावत गर्ने जहाजलाई जोखिममा पार्न प्रयोग भइरहेका इरानी सैन्य संरचना र क्षमतामाथि कारबाही केन्द्रित गरिएको जनाएको छ । अमेरिकी सेनाले इरानको बन्दरगाहमा लगाइएको नौसैनिक नाकाबन्दी तोड्न खोजिरहेको खाली तेल ट्याङ्करलाई पनि हेलफायर मिसाइल प्रहार गरी निष्क्रिय बनाएको दाबी गरेको छ । कुराकाओको झण्डा बोकेको ‘एम÷टी बेल्मा’ नामक उक्त जहाजलाई निष्क्रिय पारिएकाले अब इरानतर्फ अघि बढ्न नसक्ने अमेरिकी सेन्ट्रल कमान्डले जनाएको छ इरानी सरकारी सञ्चारमाध्यमहरूले बन्दर अब्बास, रास्क, चाबहार, केशम, बन्दर इमाम खोमेनी तथा बुसेहरलगायत दक्षिणी क्षेत्रहरूमा विस्फोट भएको जनाएका छन् । बुसेहरमा रहेको इरानको एकमात्र नागरिक आणविक ऊर्जा केन्द्र आसपास पनि अमेरिकी आक्रमण भएको दाबी गरिएको छ ।मध्यपूर्वमा युद्ध अन्त्य गर्ने उद्देश्यले अमेरिका र इरानबीच समझदारीपत्रमा हस्ताक्षर भएको झन्डै एक महिनामै दुवै पक्ष पुनः सैन्य भिडन्तमा उत्रिएका हुन् । इरानको रिभोलुसनरी गार्ड्सले बहराइनस्थित अमेरिकी पाँचौँ नौसैनिक फ्लीटलाई लक्षित गरेको जनाएको छ । त्यसपछि बहराइनमा हवाई साइरन बजाइएको थियो ।

जोर्डनले इरानबाट प्रहार गरिएका तीनवटा मिसाइल खसालेको जनाएको छ भने इराकको एरबिल क्षेत्रमा अमेरिकी नेतृत्वको गठबन्धनले विस्फोटक पदार्थ बोकेका आठवटा ड्रोन खसालेको कुर्दिस सुरक्षा बलले जनाएको छ । घटनामा मानवीय क्षतिको पुष्टि भएको छैन ।राष्ट्रपति ट्रम्पले इरान वार्तामा नफर्किए आगामी सातादेखि विद्युत् केन्द्र र पुलजस्ता पूर्वाधारमाथि पनि आक्रमण हुन सक्ने चेतावनी दिनुभएको छ । यद्यपि, दुवै पक्षबीचको मध्यस्थतामार्फत जारी वार्ता औपचारिक रूपमा समाप्त भएको छैन । इरानका प्रमुख वार्ताकार मोहम्मद बाघेर गालिबफले भने समझदारीपत्रका प्रावधान कार्यान्वयन नभएसम्म त्यसको कुनै अर्थ नरहने र इरानले त्यसको पालना गर्नुपर्ने आधार पनि नरहने बताउनुभएको छ ।यसपटकको तनावको केन्द्र फेरि हर्मुज जलघाँटी बनेको छ । यो जलघाँटीलाई विश्व ऊर्जा आपूर्तिको अत्यन्त महत्त्वपूर्ण मार्ग मानिन्छ । फेब्रुअरीमा सुरु भएको युद्धपछि इरानले जलघाँटी बन्द गरेको थियो । गत महिना भएको अन्तरिम सहमतिपछि केही समय खुला भए पनि इरानले अमेरिकी आक्रमण जारी रहेसम्म पुनः बन्द राख्ने घोषणा गरेको थियो । समुद्री ट्र्याकर केप्लरका अनुसार जलमार्गबाट हुने जहाज आवागमन उल्लेखनीय रूपमा घटेको छ भने पछिल्लो तनावसँगै अन्तर्राष्ट्रिय बजारमा तेलको मूल्य पनि बढ्न थालेको छ ।

अमेरिकाले इरानी बन्दरगाहमाथिको नौसैनिक नाकाबन्दी पुनः लागू गरेपछि इरानका उपविदेशमन्त्री काजेम घारिबाबादीले यस कदमले गत महिनाको अन्तरिम समझदारीलाई प्रभावहीन बनाएको टिप्पणी गर्नुभएको छ ।युद्ध चर्किएसँगै इरान र खाडी क्षेत्रमा सर्वसाधारणको त्रास बढेको छ । इरानको दक्षिणपूर्वी क्षेत्रका स्थानीय बासिन्दाले निरन्तर विस्फोटका कारण बालबालिका रातभर सुत्न नसक्ने अवस्था रहेको बताएका छन् । कुवेतमा बसोबास गर्ने एक सुडानी नागरिकले पनि प्रत्येक बिहान अवस्था थप बिग्रिने हो कि भन्ने चिन्तासहित उठ्नुपर्ने स्थिति आएको प्रतिक्रिया दिनुभएको छ ।यसैबीच, ओमानको तटनजिक एक नर्वेजियन तेल ट्याङ्करमा विस्फोट भएको सङ्कट प्रतिक्रिया कम्पनी एमटीआई नेटवर्कले जनाएको छ । कुवेतले आफ्नो एउटा नौसैनिक जहाजमा ड्रोन आक्रमण हुँदा चालक दलका चार सदस्य घाइते भएको जानकारी दिएको छ ।राष्ट्रपति ट्रम्पले हर्मुज हुँदै आवतजावत गर्ने जहाजमाथि २० प्रतिशत कर लगाउने पूर्व योजना स्थगित गरी त्यसको सट्टा खाडी मुलुकहरूसँग व्यापार सम्झौता गर्ने नीति अघि बढाइएको बताउनुभएको छ । इरानी सरकारी प्रवक्ताका अनुसार गत सातादेखिका अमेरिकी आक्रमणमा कम्तीमा ३० जनाको मृत्यु भएको छ । यसैबीच, अमेरिकी सेनाले इरानी नेतृत्वलाई थप आक्रमण भए इजरायलबाट पनि कडा सैन्य प्रतिक्रिया हुन सक्ने चेतावनी दिएको छ ।

प्रतिक्रिया
हाम्रो बारे

श्री पल्स खबर प्रा लि
बिराटनगर – ५,मोरंग।
९८५२०२०७५७

[email protected]

सूचना प्रसारण विभाग

दर्ता प्रमाणपत्र नम्बर: ५०६५-२०८१/२०८२

टीमहरु

कार्यकारी निर्देशक : नवलप्रसाद उपाध्याय

सम्पादक  : नविन पहाडी

कार्यकारी सम्पादक : शशांक पौडेल

प्रमुख सम्वाददाता : सौरभ फुयल

बजार व्यवस्थापक :संजोग पौडेल

 

 

सम्पर्क

बिज्ञापनको लागी:

9862006206