३२ आषाढ २०८३, बिहिबार

विराटनगरमै अत्याधुनिक उपकरण र प्रविधिको प्रयोग गरी न्युरो र स्पाइन सम्बन्धी उपचार सेवा सुरु

Logo
Pulse Khabar बिहिबार, आषाढ ३२, २०८३

विराटनगर:मेरुदण्ड (स्पाइन) सम्बन्धी रोगको उपचारलाई थप सुरक्षित, प्रभावकारी र कम पीडादायी बनाउने उद्देश्यका साथ विराटनगरस्थित आर्या न्युरो हस्पिटलले अत्याधुनिक युनिलेटरल बाइपोर्टल एन्डोस्कोपी (यूबीई) प्रविधिबाट मेरुदण्डको शल्यक्रिया सेवा सुरु गरेको छ ।

यससँगै कोशी प्रदेशमै पहिलोपटक विश्वव्यापी रूपमा प्रयोग हुँदै आएको आधुनिक दुर्बिन प्रविधिबाट स्पाइन शल्यक्रिया स्थानीयस्तरमै उपलब्ध भएको अस्पतालले जनाएको छ । अस्पतालका वरिष्ठ न्युरो सर्जन डा. पंकजराज नेपालका अनुसार यूबीई (युनिलेटरल बाइपोर्टल एन्डोस्कोपी) प्रविधिमा करिब ८ मिलिमिटरका दुईवटा साना प्वालमार्फत विशेष क्यामेरा (दुर्बिन) र सूक्ष्म शल्य उपकरण प्रयोग गरी मेरुदण्डको शल्यक्रिया गरिन्छ । यस विधिबाट नसा च्यापिएको भागसम्म सहज रूपमा पुगेर आवश्यक उपचार गर्न सकिने भएकाले शल्यक्रिया अझ सुरक्षित र प्रभावकारी हुने उनले बताए । उनका अनुसार दुर्बिनबाट प्राप्त हुने ठूलो र स्पष्ट दृश्यका कारण शल्यक्रिया अत्यन्तै सूक्ष्म र सटीक रूपमा गर्न सकिन्छ । यसले वरपरका स्वस्थ तन्तुमा कम असर पुग्ने भएकाले बिरामीले कम पीडा महसुस गर्ने र उपचारको नतिजा पनि राम्रो हुने चिकित्सकहरूको भनाइ छ । डा. नेपालका अनुसार परम्परागत खुला शल्यक्रियाको तुलनामा यूबीई प्रविधिका धेरै फाइदा छन् ।

यसमा घाउ निकै सानो हुने, रक्तश्राव कम हुने, संक्रमणको जोखिम न्यून रहने र शल्यक्रियापछि बिरामी छिट्टै सामान्य जीवनमा फर्किन सक्ने अवस्था हुन्छ । अधिकांश बिरामी शल्यक्रियाको एकदेखि दुई दिनभित्रै अस्पतालबाट घर फर्कन सक्ने जानकारी उनले दिए ।यो प्रविधि विशेषगरी डिस्क खस्किने, साइटिका, नसामा दबाब पर्ने समस्या तथा स्पाइनल क्यानल साँघुरिने समस्या लगायत मेरुदण्डका विभिन्न रोगको उपचारमा प्रभावकारी मानिन्छ । आर्या न्युरो हस्पिटलले यो सेवा सञ्चालनसँगै कोशी प्रदेशसहित देशका विभिन्न जिल्लाका बिरामीले अत्याधुनिक स्पाइन उपचारका लागि काठमाडौं वा विदेश धाउनुपर्ने बाध्यता कम हुने विश्वास व्यक्त गरेको छ ।अस्पतालले आधुनिक प्रविधि, अनुभवी विशेषज्ञ चिकित्सक र गुणस्तरीय उपचार सेवामार्फत आफूलाई न्युरो तथा स्पाइन उपचारको अग्रणी केन्द्रका रूपमा विकास गर्ने लक्ष्य लिएको छ । स्वास्थ्य क्षेत्रमा विकसित भइरहेका नवीनतम प्रविधिलाई निरन्तर भित्र्याउँदै बिरामीलाई सुरक्षित, भरपर्दो र सहज उपचार सेवा उपलब्ध गराउने प्रतिबद्धता अस्पतालको छ ।

प्रतिक्रिया
हाम्रो बारे

श्री पल्स खबर प्रा लि
बिराटनगर – ५,मोरंग।
९८५२०२०७५७

[email protected]

सूचना प्रसारण विभाग

दर्ता प्रमाणपत्र नम्बर: ५०६५-२०८१/२०८२

टीमहरु

कार्यकारी निर्देशक : नवलप्रसाद उपाध्याय

सम्पादक  : नविन पहाडी

कार्यकारी सम्पादक : शशांक पौडेल

प्रमुख सम्वाददाता : सौरभ फुयल

बजार व्यवस्थापक :संजोग पौडेल

 

 

सम्पर्क

बिज्ञापनको लागी:

9862006206