३० आषाढ २०८३, मंगलबार

“ट्याली” आधुनिक लेखा प्रणालीको भरपर्दो माध्यम

Logo
नवलप्रसाद उपाध्याय मंगलबार, आषाढ ३०, २०८३

व्यापार गर्दा सबैभन्दा महत्वपूर्ण पक्षमध्ये एक लेखा प्रणाली हो। आय, व्यय, नाफा, घाटा, कर, बैंक कारोबार, स्टक तथा ग्राहकसँगको हिसाब/किताब व्यवस्थित रूपमा राख्न नसके व्यवसायको वास्तविक अवस्था बुझ्न कठिन हुन्छ। यही आवश्यकतालाई सरल, छिटो र विश्वसनीय बनाउने उद्देश्यले विकसित गरिएको कम्प्युटरमा आधारित लेखा सफ्टवेयर ट्याली हो । आज विश्वका धेरै देशहरूमा साना, मझौला तथा ठूला व्यवसायहरूले ट्यालीलाई आफ्नो दैनिक लेखा व्यवस्थापनको प्रमुख माध्यमका रूपमा प्रयोग गरिरहेका छन्।

ट्यालीलाई विश्वकै सबैभन्दा सरल र भरपर्दो लेखा प्रणालीमध्ये एक मानिन्छ। लेखा सम्बन्धी सामान्य ज्ञान भएका व्यक्तिले पनि छोटो तालिमपछि यसलाई सजिलै सञ्चालन गर्न सक्छन्। यही कारणले नेपाल, भारत लगायत दक्षिण एसियाका हजारौं उद्योग, व्यापारिक संस्था, विद्यालय, सहकारी, गैरसरकारी संस्था तथा सेवा प्रदायक संस्थाहरूमा ट्याली व्यापक रूपमा प्रयोग भइरहेको छ।

ट्यालीको सबैभन्दा ठूलो विशेषता भनेको यसले व्यवसायको सम्पूर्ण आर्थिक गतिविधिलाई एउटै प्रणालीभित्र व्यवस्थित रूपमा राख्ने क्षमता हो। कुनै पनि कारोबार प्रविष्टि गरेपछि त्यसको प्रभाव स्वतः नगदी किताब, बैंक किताब, लेजर, ट्रायल ब्यालेन्स, नाफा–नोक्सान विवरण तथा वासलातमा देखिन्छ। यसले दोहोरो काम गर्नुपर्ने झन्झट हटाएर समय र श्रम दुवैको बचत गर्छ।

हरेक व्यवसायीको चाहना हुन्छ कि वर्षभरको कारोबारको अवस्था कुनै पनि समयमा सहज रूपमा हेर्न सकियोस्। ट्यालीको प्रयोगबाट यो सम्भव भएको छ। केही सेकेन्डमै वार्षिक, मासिक वा दैनिक आम्दानी–खर्च, बिक्री, खरिद, बाँकी रकम, बैंक मौज्दात तथा नाफा–घाटाको विवरण प्राप्त गर्न सकिन्छ। आर्थिक वर्ष समाप्त भएपछि वासलात, नाफा–नोक्सान हिसाब, ट्रायल ब्यालेन्स तथा अन्य वित्तीय प्रतिवेदन तुरुन्त तयार गर्न सकिन्छ। यसले निर्णय प्रक्रियालाई छिटो र प्रभावकारी बनाउँछ।

आजको डिजिटल युगमा ट्यालीले आफ्नो सेवा अझ आधुनिक बनाउँदै ई–बिलिङ प्रणालीलाई समेत समावेश गरेको छ। यस प्रणालीमार्फत कम्प्युटरबाटै व्यवस्थित रूपमा बिक्री बिल, कर बिजक तथा अन्य वित्तीय कागजात तयार गर्न सकिन्छ। यसले कागजी प्रक्रिया घटाउने, त्रुटि कम गर्ने तथा ग्राहकलाई छिटो सेवा उपलब्ध गराउने वातावरण सिर्जना गरेको छ। धेरै देशमा कर प्रशासनसँग समन्वय गरेर डिजिटल बिलिङलाई समेत सहज बनाउने दिशामा ट्याली निरन्तर विकास भइरहेको छ।

ट्यालीको अर्को महत्वपूर्ण विशेषता भनेको यसको पहुँच सुविधा हो। इन्टरनेटको माध्यमबाट संसारको जुनसुकै स्थानमा बसेर पनि आफ्नो कार्यालय वा व्यवसायको आर्थिक अवस्थाको अवलोकन गर्न सकिन्छ। विदेशमा रहेका व्यवसायीले समेत आफ्नो कारोबारको प्रत्यक्ष निगरानी गर्न सक्ने भएकाले व्यवस्थापन अझ प्रभावकारी बन्दै गएको छ। बहु–शाखा भएका कम्पनीहरूका लागि यो सुविधा अत्यन्त उपयोगी मानिन्छ।

ट्यालीका विभिन्न संस्करणहरूमा स्टक व्यवस्थापन, कर्मचारीको तलब व्यवस्थापन, बैंक मिलान, लागत विश्लेषण , बजेट व्यवस्थापन तथा कर सम्बन्धी प्रतिवेदन तयार गर्ने सुविधा पनि उपलब्ध छन्। यसले लेखा मात्र नभई समग्र व्यवसाय व्यवस्थापनलाई व्यवस्थित बनाउन सहयोग पुर्‍याउँछ।

प्रख्यात ट्याली प्रशिक्षक विनोद सिंहका अनुसार, “ट्याली आधुनिक लेखा प्रणालीका लागि एउटा वरदान सावित भएको छ।” उहाँका अनुसार यसको प्रयोगले समय बचत हुनुका साथै त्रुटि न्यून हुन्छ, व्यवसायको वास्तविक आर्थिक अवस्था तत्काल थाहा पाइन्छ र व्यवस्थापन अझ पारदर्शी बन्छ। आधुनिक प्रतिस्पर्धात्मक व्यापारिक वातावरणमा ट्याली जस्तो प्रणालीको प्रयोगले व्यवसायलाई अझ सक्षम र व्यवस्थित बनाउने विश्वास उहाँ व्यक्त गर्नुहुन्छ।

नेपालमा पनि पछिल्ला वर्षहरूमा ट्याली सिक्ने युवाहरूको संख्या उल्लेखनीय रूपमा बढेको छ। बैंक, वित्तीय संस्था, व्यापारिक कम्पनी, उत्पादन उद्योग तथा लेखा कार्यालयहरूले ट्याली जान्ने जनशक्तिलाई प्राथमिकता दिन थालेका छन्। त्यसैले ट्यालीको ज्ञान व्यवसायीका लागि मात्र होइन, रोजगारी खोजिरहेका विद्यार्थी तथा लेखा क्षेत्रमा भविष्य बनाउन चाहने युवाका लागि पनि उपयोगी सीप बनेको छ।

बढ्दो प्रतिस्पर्धा, डिजिटल प्रविधिको विस्तार तथा पारदर्शी वित्तीय व्यवस्थापनको आवश्यकताले आज ट्यालीको महत्व झन् बढाएको छ। व्यवसाय सानो होस् वा ठूलो, सही लेखा प्रणालीबिना दीर्घकालीन सफलता सम्भव हुँदैन। ट्यालीले यही आवश्यकतालाई सरल, छरितो, सुरक्षित र विश्वसनीय रूपमा पूरा गरेको छ। ट्याली केवल एउटा लेखा सफ्टवेयर मात्र होइन, आधुनिक व्यवसाय व्यवस्थापनको प्रभावकारी साझेदार हो। समयको बचत, शुद्ध लेखा, छिटो प्रतिवेदन, ई–बिलिङ, विश्वको जुनसुकै स्थानबाट कारोबारको निगरानी तथा व्यवसायको वास्तविक आर्थिक अवस्था तत्काल थाहा पाउने सुविधाले ट्यालीलाई आजका व्यवसायीहरूको पहिलो रोजाइ बनाएको छ। आगामी दिनमा डिजिटल अर्थतन्त्र अझ विस्तार हुँदै जाँदा ट्यालीको उपयोगिता र महत्व अझ बढ्दै जाने छ ।

प्रतिक्रिया
हाम्रो बारे

श्री पल्स खबर प्रा लि
बिराटनगर – ५,मोरंग।
९८५२०२०७५७

[email protected]

सूचना प्रसारण विभाग

दर्ता प्रमाणपत्र नम्बर: ५०६५-२०८१/२०८२

टीमहरु

कार्यकारी निर्देशक : नवलप्रसाद उपाध्याय

सम्पादक  : नविन पहाडी

कार्यकारी सम्पादक : शशांक पौडेल

प्रमुख सम्वाददाता : सौरभ फुयल

बजार व्यवस्थापक :संजोग पौडेल

 

 

सम्पर्क

बिज्ञापनको लागी:

9862006206