विराटनगर: कोशी अस्पतालको स्वामित्वमा रहेको जग्गा अतिक्रमण गरी निर्माण गरिएका संरचना सोमबार बिहानैदेखि डोजर चलाएर भत्काइएको छ ।
अस्पताल प्रशासनले सात दिनको अल्टिमेटम दिएर संरचना खाली गर्न चेतावनी दिएपछि व्यवसायीहरूले शनिबारदेखि नै धमाधम सटर खाली गर्न थालेका थिए । अस्पतालले जिल्ला सुरक्षा समितिसँगको समन्वयमा सोमबार बिहान ५ बजेदेखि विराटनगर महानगरपालिका–७ को अस्पताल चोक र देवकोटा चोक क्षेत्रमा डोजर परिचालन गरेको थियो ।सम्भावित अवरोध रोक्न ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको थियो । घटनास्थलमा मोरङका सहायक प्रमुख जिल्ला अधिकारी सरोज कोइराला, मोरङ प्रहरी प्रमुख एसपी कवित कटवाल लगायतका सुरक्षा अधिकारी खटिएका थिए ।एसपी कटवालले अस्पतालको जग्गा कब्जा गरेर विभिन्न संघ संस्थाले व्यावसायिक प्रयोजनका लागि निर्माण गरेको संरचना डोजर लगाएर भत्काइएको जानकारी दिए । अस्पतालको जग्गा अतिक्रमण गर्दै विभिन्न संघ संस्थाले व्यावसायिक प्रयोजनका लागि संरचना बनाएर भाडामा लगाएका थिए ।सटर भाडामा लगाएको आम्दानी अस्पतालले नभइकन तिनै संघ संस्थाले लिने गरेका थिए । अतिक्रमित जग्गा खाली गराउनुपर्ने र अस्पतालले प्रयोग गर्ने वातावरण बनाउनुपर्ने आवाज लामो समयदेखि उठिरहेको थियो ।
अस्पतालको बहुमूल्य जग्गामा नेपाल रेडक्रस सोसाइटी, नेपाल क्षयरोग निवारण संस्था, गणेश मन्दिर समिति र देवकोटा पुस्तकालयले स्थायी संरचना निर्माण गरेका थिए । ती संस्थाले ३० भन्दा बढी सटर औषधि पसल, चिकित्सकलगायत तेस्रो पक्षलाई भाडामा दिएका थिए । अस्पतालले आफ्नो गुरुयोजना कार्यान्वयनका लागि लामो समयदेखि संरचना हटाउन ताकेता गर्दै आएको थियो ।गत असार २१ गते गृहमन्त्री सुधन गुरुङ र स्वास्थ्यमन्त्री निशा मेहताले स्थलगत अनुगमनका क्रममा संरचना खाली गराउन निर्देशन दिएका थिए । त्यसलगत्तै अस्पताल प्रशासनले सात दिनभित्र संरचना हटाउन सार्वजनिक सूचना जारी गरेको थियो । जसको म्याद सोमबार सकिएको छ । म्याद सकिएसँगै एकाबिहानैबाट डोजर परिचालन गरिएको हो ।अस्पतालको अभिलेखअनुसार नेपाल क्षयरोग निवारण संस्थाले ६ कट्ठा ८ धुर र नेपाल रेडक्रस सोसाइटीले करिब २ कट्ठा जग्गा वर्षौंदेखि प्रयोग गर्दै आएका थिए । गणेश मन्दिर समिति र देवकोटा पुस्तकालयले पनि सडक मोहडामा सटर निर्माण गरी व्यावसायिक प्रयोजनमा प्रयोग गर्दै आएका थिए ।
अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. चन्द्रभाल झाले सबै अतिक्रमित संरचना हटाएर जग्गा आफ्नै सेवा विस्तार र संस्थागत प्रयोजनमा उपयोग गरिने बताए । जथाभावी निर्माण गरिएका संरचना डोजर चलाएर भत्काइएपछि वर्षौंदेखिको अतिक्रमण अन्त्य भई अस्पतालले आफ्नो सम्पत्ति निर्वाध रूपमा उपयोग गर्न पाउने उनको भनाइ छ । संघ संस्थाहरुले पञ्चायतकालीन समयदेखि नै कोशीको जग्गा हडपेर आफूले प्रयोग गर्दै संरचना बनाएर भाडामा लगाएका थिए । नेपाल क्षयरोग निवारण संस्था, ब्लड बैंक र गणेश मन्दिरको संरचना भने तत्कालका लागि भत्काइएको छैन । व्यावसायिक प्रयोजनका लागि भाडामा लगाएका संरचना मात्रै भत्काइएको अस्पतालले जनाएको छ ।


