

विराटनगर । विराटनगरमा सोमबार राति भएको युवक हत्याकाण्डमा संलग्न चार जनालाई प्रहरीले पक्राउ गरेको छ ।
जिल्ला प्रहरी कार्यालय मोरङका अनुसार युवतीको विषयमा भएको दोहरो झडपका क्रममा विराटनगर–२ मा राती करिब १० बजे कटहरी गाँउपालिकाका २१ वर्षीय करण कामतको मृत्यु भएको थियो ।
घटनामा परि कटहरी–१ जम्टोकीका २२ वर्षीय विक्रम मण्डल र १७ वर्षीय अमन राय घाइते भएका छन् । उनीहरुको विराटनगरस्थित नोबेल शिक्षण अस्पतालमा उपचार भइरहेको छ । घटनास्थलमा फेला परेको मोबाईलको सहायतामा चारजनालाई पक्राउ गरिएको मोरङ प्रहरीका प्रवक्ता तथा प्रहरी नायब उपरिक्षक ज्ञानेन्द्र बस्नेतले जानकारी दिनुभयो ।
४ जनालाई पक्राउ गरि सोधपुछ गरिरहेको उहाँको भनाई छ । प्रहरीले घटनामा संलग्न विराटनगर–११ का सोनु गिरी, ताप्लेजुङको दोखुका १८ वर्षीय निमदावा शेर्पा, भोजपुर भुल्केका २० वर्षीय सञ्जय गिरी र मोरङको रंगेलीका १६ वर्षीय एक बालक पनि पक्राउ गरेको छ ।
विराटनगर ११ का गिरीसहित चारै जना विराटनगर–२ स्थित विराट नर्सिङ नजिक बसोबास गर्दै आएका छन् । प्रहरीका अनुसार मृतक कामत र घाईते दुई जनाले युवती जिस्काएको सन्र्दभलाई लिएर विवाद गरेको अर्काे दिन सोमबार राती सामूहिक झडप र हत्यासम्म भएको हो ।
पक्राउ परेको शेर्पाले मृतक र घाइतेलाई कैचींले प्रहार गरेका थिए । कैची नर्सिङ होम नजिक रहेको गोलबजार औषधी पसलबाट प्रहरीले बरामद गरेको छ । घटनाका सम्बन्धमा थप अनुसन्धान सुरु गरिएको र घटनामा संलग्नविरुद्ध कर्तव्य ज्यान मुद्दा चलाउने तयारी भइरहेको प्रहरी प्रवक्ता बस्नेतको भनाई छ ।