काठमाडौं:प्रधानमन्त्री बालेन शाहले प्रधानमन्त्री कार्यसम्पादन एकाइ (‘पीएम डेलिभरी युनिट’) स्थापना गर्ने भएका छन् ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा युनिट स्थापना हुनेछ ।असार १८ गते मन्त्रिपरिषदबाट स्वीकृत १८ बुँदे राष्ट्रिय प्रतिवद्धतामा उल्लेख भएका विषयको प्रभावकारी कार्यान्वयनका लागि अनुगमन तथा अन्तरनिकाय समन्वयको जिम्मेवारी ‘पीएम डेलिभरी युनिट’लाई दिन लागिएको हाे ।गत १३ चैतमा शासकीय सुधार सम्बन्धी एक सय कार्यसूची जारी भएको थियो । उक्त कार्यसूचीबाहेक गत २१ फागुनको निर्वाचनमा सहभागी भएका र चुनावबाट आएका राष्ट्रिय मान्यताप्राप्त ६ वटा राजनीतिक दलहरूका घोषणापत्र, वाचापत्र तथा प्रतिबद्धताहरूलाई समेटेर यो राष्ट्रिय प्रतिबद्धता तयार गरिएको छ ।प्रतिबद्धतामा उल्लेख भएका कतिपय विषय आगामी आर्थिक वर्ष २०८३/०८४ को वार्षिक नीति तथा कार्यक्रम र बजेटमा समावेश भइसकेको छ । नीति तथा कार्यक्रम र बजेटमा नसमेटिएका विषयहरूलाई भविष्यका सुधार एजेण्डासँग आवद्ध गर्दै लैजाने प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले जनाएको छ ।
सबै प्रतिबद्धताहरूको कार्यान्वयन विभिन्न विषयगत मन्त्रालय तथा निकायहरूले आफ्नो वार्षिक कार्यक्रम र बजेटमा समावेश गरी गर्नेछन् ।नेपालमा स्थापना गर्न खोजिएको ‘पीएम डेलिभरी युनिट’ नयाँ अवधारणा भने होइन । बेलायतमा पूर्वप्रधानमन्त्री टोनी ब्लेयरको कार्यकालमा सन् २००१ मा Prime Minister’s Delivery Unit (PMDU) स्थापना गरिएको थियो । यो मन्त्रिपरिषद कार्यालयअन्तर्गत रहेर प्रधानमन्त्रीलाई प्रत्यक्ष रिपोर्ट गर्ने संरचना थियो ।
