विराटनगर:कोशी अस्पतालले आफ्नो नाममा दर्ता रहेको अतिक्रमित जग्गा चरणबद्ध रूपमा खाली गराउने औपचारिक घोषणा गरेको छ । अस्पतालले शुक्रबार पत्रकार सम्मेलन गर्दै सेवा प्रवाहमा कुनै पनि असर नपर्ने गरी अतिक्रमित जग्गा हटाइने जनाएको हो ।
अस्पतालका नायब सुब्बा एवं जनसम्पर्क अधिकारी नवराज लुइँटेलका अनुसार लामो समयदेखि विभिन्न निजी व्यवसाय, संघ संस्था तथा अन्य प्रयोजनका लागि प्रयोग हुँदै आएको जग्गा सेवा विस्तार, नयाँ पूर्वाधार निर्माण तथा बिरामीलाई थप गुणस्तरीय स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्यले उपयोगमा ल्याउन लागिएको हो । अस्पतालले तत्काल हटाइने संरचनामा उज्ज्वल फार्मेसी, आरम्भ फार्मेसी, हिमालय किराना पसल, पुष्पी फास्ट फुड, बालाजी लिंक क्लिनिक, श्रीकृष्ण खाजाघर, साधना होटल, बुद्ध बेकरी, पूर्वाञ्चल नर्सिङ होम, द्विवेदी खाजाघर, राष्ट्रिय प्राविधिक विद्यालय समिति, मोरङ फार्मेसी तथा निउमा होटल लगायत संरचना हटाउने उनले बताए ।नेपाल रेडक्रस सोसाइटी परिसरभित्र रहेका सूचना डेस्क, क्यान्टिन, नागरिक सहायता केन्द्रलगायत अस्थायी संरचनाको समेत व्यवस्थापन गरिने अस्पतालले लुइँटेलले बताए । यद्यपि जनस्वास्थ्य, सामाजिक तथा धार्मिक संवेदनशीलतालाई ध्यानमा राख्दै नेपाल रेडक्रस सोसाइटीद्वारा सञ्चालित ब्लड बैंक, क्षयरोग निवारण केन्द्र, देवकोटा पुस्तकालय, मन्दिर तथा क्षयरोग उपचारमा प्रयोग हुने औषधि वितरणलगायत अत्यावश्यक सेवाहरू तत्काल नहटाइने स्पष्ट गरिएको छ ।अस्पताल प्रशासन र सरोकारवालाका अनुसार ब्लड बैंक र क्षयरोग निवारण केन्द्रबाट दैनिक सयौं सेवाग्राही लाभान्वित भइरहेका छन् । विशेष गरी औषधिप्रति प्रतिरोधी क्षयरोग (एमडीआर–टीबी)का बिरामीको उपचारमा अवरोध आए औषधिको प्रभावकारिता नै घट्ने जोखिम रहने चिकित्सकहरूको भनाइ छ । देवकोटा पुस्तकालय सामाजिक तथा शैक्षिक महत्वको संस्था र मन्दिर धार्मिक आस्थासँग जोडिएको स्थल भएकाले वैकल्पिक व्यवस्था नहुँदासम्म यथावत् सञ्चालन गर्ने निर्णय गरिएको अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट चन्द्रभाल झाले बताए ।
उनले अस्पतालले आफ्नो कानुनी स्वामित्वको जग्गा उपयोग गर्नु स्वाभाविक र कानुनी अधिकार भएको उल्लेख गर्दै भविष्यको सेवा विस्तार, नयाँ भवन निर्माण र स्वास्थ्य सेवा प्रभावकारी बनाउन अतिक्रमित जग्गा खाली गराउनु अपरिहार्य रहेको जानकारी दिए । सरोकारवालाले भने अस्पतालको अधिकार सुनिश्चित गर्दै अत्यावश्यक स्वास्थ्य र धार्मिक सेवामा अवरोध नपर्ने सन्तुलित समाधान खोज्न आग्रह गरेका छन् ।उनीहरूले ब्लड बैंक, क्षयरोग निवारण केन्द्र, देवकोटा पुस्तकालय र मन्दिरका लागि वैकल्पिक स्थान तयार नहुँदासम्म हालकै स्थानमा सञ्चालन गर्न दिने, आवश्यक परे अस्पताललाई उचित भाडा बुझाउने व्यवस्था गर्ने र वैकल्पिक संरचना निर्माणपछि मात्र स्थानान्तरण गर्ने उपाय सबै पक्षका लागि व्यवहारिक हुने बताए । अस्पतालले सम्पूर्ण प्रक्रिया कानुनी प्रावधानअनुसार र जनस्वास्थ्यमा असर नपर्ने गरी सम्बन्धित निकायसँग समन्वय गरेर अघि बढाइने प्रतिबद्धता व्यक्त गरेको छ ।




