२२ आषाढ २०८३, सोमबार

किसानलाई प्रोत्साहन: ५० प्रतिशत अनुदानमा फलफूलका बिरुवा वितरण

Logo
Pulse Khabar सोमबार, आषाढ २२, २०८३

कञ्चनपुर: कृष्णपुर नगरपालिकाले फलफूलखेती विस्तार गरी स्थानीय उत्पादन वृद्धि गर्ने उद्देश्यले आइतबार किसानलाई ५० प्रतिशत अनुदानमा दुई हजार ३९०(तीन सय नब्बे) फलफूलका बिरुवा वितरण गरेको छ ।

नगरपालिकाले चालु आर्थिक वर्षको कृषि विकास कार्यक्रमअन्तर्गत किसानलाई आँप, लिची र सिडलेस अङ्गुरका बिरुवा वितरण गरेको हो ।नगरपालिकाको कृषि विकास शाखाका प्रमुख लालबहादुर धामीका अनुसार वितरण गरिएका बिरुवामध्ये दशहरी जातका आँप एक हजार २००, सोही जातका लिची एक हजार १५० र सिडलेस अङ्गुरका ४० बिरुवा रहेका छन् । फलफूलखेतीमा रुचि राख्ने किसानलाई जनही दुई–दुई आँप र लिचीका बिरुवा उपलब्ध गराइएको छ भने व्यावसायिक रूपमा अङ्गुरखेती गर्न इच्छुक किसानलाई सिडलेस अङ्गुरका बिरुवा वितरण गरिएको उहाँले बताउनुभयो ।“फलफूलखेती विस्तार गरेर नगरपालिकालाई दीर्घकालीन रूपमा फलफूल उत्पादनमा आत्मनिर्भर बनाउने हाम्रो उद्देश्य हो”, प्रमुख धामीले भन्नुभयो, “फलफूल उत्पादनले किसानको आयआर्जन बढाउनुका साथै पोषण सुरक्षामा पनि महत्त्वपूर्ण योगदान पुर्याउँछ ।”प्रमुख धामीका अनुसार आँप र लिचीका बिरुवाको बजार मूल्य प्रतिबिरुवा रु ८५ भए पनि किसानलाई ५० प्रतिशत अनुदानमा ४२ रुपैयाँ ५० पैसाका दरले उपलब्ध गराइएको छ । प्रतिबिरुवा रु १०० मा खरिद गरिएको सिडलेस अङ्गुर किसानलाई रु ५० मा उपलब्ध गराइएको छ ।

बिरुवा खरिदका लागि नगरपालिकाले रु एक लाख खर्च गरेको छ भने सोहीबराबरको रकम लाभग्राही किसानले व्यहोरेका छन् । यसबाट किसानलाई गुणस्तरीय बिरुवा सहुलियत मूल्यमा उपलब्ध गराउन सहयोग पुगेको प्रमुख धामीले बताउनुभयो । बिरुवा वितरणसँगै किसानलाई फलफूल बगैँचा स्थापना, बिरुवा रोप्ने तरिका, मल व्यवस्थापन, सिँचाइ तथा बिरुवाको संरक्षणसम्बन्धी आवश्यक प्राविधिक परामर्शसमेत प्रदान गरिएको छ । यसले बिरुवाको जीवित रहने दर बढ्नुका साथै उत्पादनसमेत वृद्धि हुने अपेक्षा गरिएको छ । नगरपालिकाले विगत तीन वर्षदेखि निरन्तर रूपमा फलफूल बगैँचा स्थापना गर्ने किसानलाई अनुदानमा बिरुवा उपलब्ध गराउँदै आएको छ । यस कार्यक्रमबाट सयौँ किसान लाभान्वित भएका छन् भने निजी जग्गामा व्यावसायिक फलफूलखेती विस्तार हुँदै गएको कृषि विकास शाखाले जनाएको छ ।नगरपालिकाका अनुसार पछिल्लो समय किसानमा परम्परागत खेतीसँगै फलफूलखेतीप्रति आकर्षण बढ्दै गएको छ । विशेषगरी आँप, लिची, केरा, कागती र अङ्गुरजस्ता बहुवर्षीय बालीले दीर्घकालीन आम्दानी दिने भएकाले किसानको रुचि बढेको हो । नगरपालिकाले आगामी वर्षहरूमा समेत अनुदान कार्यक्रमलाई निरन्तरता दिँदै व्यावसायिक फलफूलखेती विस्तार, किसानको आयआर्जन वृद्धि र स्थानीय उत्पादन बढाउने योजना बनाएको जनाएको छ ।

प्रतिक्रिया
हाम्रो बारे

श्री पल्स खबर प्रा लि
बिराटनगर – ५,मोरंग।
९८५२०२०७५७

[email protected]

सूचना प्रसारण विभाग

दर्ता प्रमाणपत्र नम्बर: ५०६५-२०८१/२०८२

टीमहरु

कार्यकारी निर्देशक : नवलप्रसाद उपाध्याय

सम्पादक  : नविन पहाडी

कार्यकारी सम्पादक : शशांक पौडेल

प्रमुख सम्वाददाता : सौरभ फुयल

बजार व्यवस्थापक :संजोग पौडेल

 

 

सम्पर्क

बिज्ञापनको लागी:

9862006206