२० आषाढ २०८३, शनिबार

विदेशको अनुभव स्वदेशमा लगानी: कोरियाबाट फर्केर रूपक बने सफल उद्यमी

Logo
Pulse Khabar शनिबार, आषाढ २०, २०८३

धरान (सुनसरी): वैदेशिक रोजगारीबाट फर्किएका सुनसरीको बराहक्षेत्र नगरपालिका–५ कालाबन्जरका नवीन राई रूपकम व्यावसायिक बङ्गुर तथा लोकल कुखुरा पालन गरेर सफल उद्यमी बन्नुभएको छ ।

पाँच वर्ष दक्षिण कोरियामा रोजगारी गरेर स्वदेश फर्किनु भएका राईले २०७७ मा ‘किरात एग्रिकल्चर फार्म’ दर्ता गरी व्यावसायिक रूपमा बङ्गुर र लोकल कुखुरा पालन सुरु गर्नुभएको हो । कृषि तथा पशुपालन क्षेत्रमा सम्भावना देखेर उहाँले करिब रु चार करोड ५० लाखको लगानीमा अढाइ बिघा क्षेत्रफलमा फार्म स्थापना गर्नु भएको बताउनुभयो । हाल होम्सार, ल्यान्ड्रेस, पाख्रीबासेलगायत चारदेखि पाँच प्रजातिका ४०० भन्दाबढी बङ्गुर र करिब ४०० बढी लोकल कुखुरा रहेका छन् । सुरुमा स्थानीय किसानबाट ३३ वटा बङ्गुर खरिद गरेर व्यवसाय सुरु गर्नुभएका राईले सुरुआती चरणमा प्राविधिक ज्ञानको अभाव र बजार व्यवस्थापनमा समस्या भए पनि अहिले व्यवसाय विस्तार हुँदै गएको राईले जानकारी दिनुभयो ।“सुरुमा पशुपालनसम्बन्धी खासै ज्ञान थिएन । उत्पादन भए पनि बजार र उचित मूल्य पाउन कठिन थियो । बिस्तारै सिक्दै जाँदा व्यवसायमा टिकाउपन आयो । परिवारको साथ र सहयोगले पनि धेरै सहज भयो,” उहाँले भन्नुभयो ।उत्पादित मासुको बजारीकरणमा समस्या भएपछि उहाँले आफैँ बजार व्यवस्थापनमा लाग्नुभयो । अहिले धरान, कालाबन्जर, बराहक्षेत्र, नडाहा र चक्रघटीलगायत क्षेत्रमा आफैँले सञ्चालनमा ल्याउनु भएको ६ वटा मासु पसल रहेका छन् त्यसपछि कालाबन्जरमा आफ्नै रेस्टुरेन्ट सञ्चालनमा ल्याएपछि उत्पादित मासुको बिक्री सहज भएको उहाँले बताउनुभयो ।

फार्मबाट उत्पादन हुने बङ्गुरका पाठापाठी प्रतिगोटा रु आठ हजारदेखि रु १० हजारसम्म तथा मासुका लागि तयार पारिएका बङ्गुर प्रतिगोटा रु ३० हजारदेखि रु ५५ हजारसम्ममा बिक्री हुने गरेको उहाँले जानकारी दिनुभयो । पाठापाठी स्थानीय बजारका साथै मुख्य रूपमा काठमाडौँ पठाइने गरिएको छ । पछिल्लो समय फेसबुक र टिकटकजस्ता सामाजिक सञ्जालमार्फत देशका विभिन्न स्थानबाट अनलाइन अर्डर आउने गरेको उहाँको भनाइ छ ।फार्मबाट उत्पादित लोकल कुखुरा प्रतिकेजी रु ६००मा बिक्री हुने गरेको छ । वैशाख र मङ्सिर महिनामा पितृपूजाका लागि पहाडी जिल्लाबाट ग्राहक आउने गरेका छन । यहाँ उत्पादन भएका कुखुरा स्थानीय बजारका साथै धरान, इटहरी र चतरासम्म बिक्री हुने गरेको उहाँले बताउनुभयो ।राईको उद्यमले स्थानीयस्तरमा रोजगारीसमेत सिर्जना गरेको छ । फार्ममा हाल तीन जना तथा मासु पसल र रेस्टुरेन्टमा गरी २१ देखि २२ जनाले रूपकम रोजगारी पाएका छन् । फार्म सञ्चालन गरेपछि आफू र परिवार मात्र होइन, अरूलाई पनि रोजगारी दिन सकेको छु । देशमै बसेर आम्दानी गर्न र अरूलाई रोजगारी दिन सक्नु ठूलो सन्तुष्टिको विषय हो । नेपालमा सम्भावना छैन भन्ने होइन, मेहनत गर्न सक्नेका लागि कृषिमा प्रशस्त अवसर छन, उहाँले भन्नुभयो ।

विदेश पलायन हुनुभन्दा आफ्नै गाउँठाउँमा श्रम गरे देश समृद्ध हुनुका साथै परिवार पनि आत्मनिर्भर बन्न सक्ने उहाँको विश्वास छ।वार्षिक रु चार करोडभन्दा बढीको कारोबार हुने गरे पनि बैङ्क ऋणको किस्ता, कर्मचारीको पारिश्रमिक तथा बङ्गुर र कुखुराको दानालगायत सञ्चालन खर्चका कारण वार्षिक खुद नाफाको यकिन हिसाब गर्न कठिन हुने उहाँ बताउनुहुन्छ । घाटा भने भएको छैन यही व्यवसायबाट परिवारको जीविकोपार्जन, बालबालिकाको शिक्षाको खर्च तथा परिवारका सदस्यलाई रूपकम रोजगारी दिन सफल भएको छु । व्यवसायबाट सन्तुष्ट छु,उहाँले भन्नुभयो ।कृषि क्षेत्रमा लगानी गर्न चाहने युवाले बजारको अवस्था, प्रविधि र व्यवसायको सम्भावनाबारे पर्याप्त अध्ययन गरेर मात्र लगानी गर्नुपर्ने उहाँको सुझाव छ । एकैपटक ठूलो लगानी गर्नु उपयुक्त हुँदैन । सानो लगानीबाट व्यवसाय सुरु गरेर अनुभवसँगै विस्तार गर्दा जोखिम कम हुने उहाँको अनुभव छ ।उद्यमशील युवालाई लगानी प्रोत्साहनस्वरूप राज्यले सहुलियतपूर्ण ऋण, अनुदान तथा अन्य प्रोत्साहनका कार्यक्रम प्रभावकारी रूपमा उपलब्ध गराए कृषि क्षेत्रमा थप युवा आकर्षित हुने र स्वरोजगार सिर्जनामा टेवा पुग्ने उहाँले बताउनुभयो ।

प्रतिक्रिया
हाम्रो बारे

श्री पल्स खबर प्रा लि
बिराटनगर – ५,मोरंग।
९८५२०२०७५७

[email protected]

सूचना प्रसारण विभाग

दर्ता प्रमाणपत्र नम्बर: ५०६५-२०८१/२०८२

टीमहरु

कार्यकारी निर्देशक : नवलप्रसाद उपाध्याय

सम्पादक  : नविन पहाडी

कार्यकारी सम्पादक : शशांक पौडेल

प्रमुख सम्वाददाता : सौरभ फुयल

बजार व्यवस्थापक :संजोग पौडेल

 

 

सम्पर्क

बिज्ञापनको लागी:

9862006206