चितवन: जिल्लामा रोप्नका लागि तयार भएको धानको बीउमा मरुवा (व्लाष्ट) रोगको समस्या देखिएको छ ।
भरतपुर महानगरपालिका क्षेत्रमा रोप्नका लागि तयार भएको बीउको ब्याडमा मरुवाको समस्या देखिएको जिल्लास्थित कृषि विकास कार्यालयले जनाएको हो ।कार्यालयकी सूचना अधिकारी विन्दु पौडेलका अनुसार भरतपुर महानगरपालिका-२७ र २८ मा रोप्नका लागि तयार भएको धानको ब्याडमा मरुवाको समस्या देखिन थालेको हो । उहाँले बिरुवाका पातमा साना खैरो, कालो दागजस्तो देखिएको बताउनुभयो ।सूचना अधिकारी पौडेलले भन्नुभयो, “यो रोग बढ्दै जाँदा ठूला काला थोप्ला, बीचमा सेतो आकार भएको डुङ्गा आकृतिका दागहरू प्रष्ट देख्न सकिन्छ । यसले बाली उत्पादनमा १० देखि २० प्रतिशतसम्म क्षति गर्नसक्ने जोखिम निम्त्याउँछ ।”
उहाँका अनुसार यो रोग बीउ, सङ्क्रमित पानी, परालका ठूटा तथा झारपातबाट सर्ने गर्दछ । सङ्क्रमण न्यूनीकरणका लागि ओसिलो, न्यानो र २१ डिग्री सेल्सियस तापक्रमको अवस्था उत्तम वातावरण हुने जनाउँदै पौडेलले रोग देखिएका ब्याडका बीउको उपचार नगरी रोप्न नहुने बताउनुभयो । यसको सङ्क्रमण रोक्नका लागि निरोगी बीउको प्रयोग गर्ने, रोगबाट ग्रसित भएको खेतबाट बीउ छनोट नगर्ने, खेतबारी, आली तथा वरिपरि रहेका अन्नबाली जातको झारपात हटाइ खेतलाई सफा राख्नुपर्ने पौडेलले सुझाव दिनुभयो । बीउ राख्दा सम्भव भएसम्म हिले ब्याडमा राख्ने र धानखेतीमा पानी जमाइराख्ने गर्नुपर्ने उहाँले बताउनुभयो ।
