१९ आषाढ २०८३, शुक्रबार

पूर्वी नेपालमा मनसुनजन्य विपद् प्रतिकार्यका लागि सेनाको तयारी पूरा, १४ जिल्लाका युनिटहरू उच्च सतर्कतामा

Logo
Pulse Khabar शुक्रबार, आषाढ १९, २०८३

काठमाडौँ: नेपाली सेनाको पूर्वी पृतना र कोशी प्रदेशका १४ जिल्लामा तैनाथ सेनाका युनिटले छैटौँ संस्करणको ‘अभ्यास मनसुन’ सम्पन गरेका छन् ।

विपद् प्रतिकार्य तयारीका लागि कोशीमा मनसुनजन्य बाढी, पहिरो, डुबान, आगलागी, सवारी दुर्घटना तथा अन्य विपद्लाई लक्षित गर्दै सम्पूर्ण सुरक्षा निकायसँग समन्वय गरी उच्च सतर्कतासहित आवश्यक तयारी गरिएको पूर्वीपृतनापति एवं नेपाली सेनाका उपरथी गौरवकुमार केसीले जानकारी दिनुभयो । मनसुनजन्य विपदलाई मध्यनजर राख्दै श्री नं १ विपद् व्यवस्थापन गण, काठमाडौँबाट विपद् प्रतिकार्यमा दक्ष जनशक्ति आवश्यक उपकरणसहित इटहरीस्थित पूर्वी पृतनामा तयारी अवस्थामा राखिएको छ । कोशीका सबै जिल्लामा उद्धार टोली २४सैँ घण्टा तयारी अवस्थामा राखिएको उहाँले जानकारी दिनुभयो । उद्धारका लागि डुङ्गा, ‘लाइफ ज्याकेट’, डोरी, ‘स्ट्रेचर’, ‘कटर’, सञ्चार उपकरणलगायत अन्य आवश्यक सामग्री व्यवस्थापन गरिएको छ । खोज तथा उद्धारमा दक्ष जनशक्तिको परिचालन तथा विपद् परिस्थितिजन्य तालिम तथा अभ्यास सम्पन्न भइसकेको छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणबाट प्राप्त निर्देशनबमोजिम मनुसन प्रतिकार्य कमाण्ड पोष्ट सबै तहमा स्थापना गरी कार्यान्वयन गरिएको उपसथी केसीले जानकारी दिनुभयो ।

प्रदेश, जिल्ला र स्थानीय तहका विपद् व्यवस्थापन समितिसँग समन्वय र सूचना आदान–प्रदानको व्यवस्था सुदृढ बनाइएको छ । मौसम पूर्वानुमान तथा बाढीपहिरोसम्बन्धी पूर्वसूचनाको निरन्तर निगरानी गरी आवश्यक परे तत्काल उद्धार तथा राहत परिचालनको तयारी गरिएको छ । प्रभावित क्षेत्रमा खोज, उद्धार, राहत वितरण, सुरक्षित स्थानमा स्थानान्तरण तथा अत्यावश्यक सेवामा सहजीकरण गर्न हेलिकप्टर इटहरीस्थित पृतना हेडक्वार्टरमा ‘स्ट्याण्डवाइ’ रुपमा राखिएको सेनाले जनाएको छ । विभिन्न किसिमका सवारी दुर्घटना तथा प्राकृतिक प्रकोपका कारण हुनसक्ने ठूलो हताहतीको अवस्थामा इटहरीस्थित सैनिक अस्पतालबाट छिटो र प्रभावकारी ढङ्गले स्वास्थ्य सेवा प्रदान गर्न सोसम्बन्धी पूर्वाभ्यास सञ्चालन गरिएको थियो । सेनाले नागरिकलाई आधिकारिक सूचना पालना गर्न, जोखिमयुक्त क्षेत्रमा अनावश्यक आवतजावत नगर्न तथा आपत्कालीन अवस्थामा नजिकको सुरक्षा निकायमा सम्पर्क गर्न आग्रह गरेको छ ।

प्रतिक्रिया
हाम्रो बारे

श्री पल्स खबर प्रा लि
बिराटनगर – ५,मोरंग।
९८५२०२०७५७

[email protected]

सूचना प्रसारण विभाग

दर्ता प्रमाणपत्र नम्बर: ५०६५-२०८१/२०८२

टीमहरु

कार्यकारी निर्देशक : नवलप्रसाद उपाध्याय

सम्पादक  : नविन पहाडी

कार्यकारी सम्पादक : शशांक पौडेल

प्रमुख सम्वाददाता : सौरभ फुयल

बजार व्यवस्थापक :संजोग पौडेल

 

 

सम्पर्क

बिज्ञापनको लागी:

9862006206