१५ आषाढ २०८३, सोमबार

पर्यटकलाई लोभ्याउदै रानी ताल, राजा ताल बन्ने भएपछि स्थानीय उत्साहित

Logo
Pulse Khabar सोमबार, आषाढ १५, २०८३

शशांक पौडेल
विराटनगर । धनकुटाको दक्षिण–पूर्वी भेगमा रहेको चौबिसे गाउँपालिका–६ को राजारानी क्षेत्र पूर्वी नेपालको रमणीय प्राकृतिक तथा पर्यटकीय गन्तव्यका रूपमा परिचित छ । भेडेटारबाट करिब आठ किलोमिटर दूरीमा रहेको यो क्षेत्र घना जंगल, चिसो मौसम, एक्कासी लाग्ने बाक्लो हुस्सु र प्राकृतिक तालहरूको सौन्दर्यका कारण पछिल्ला वर्षहरूमा आन्तरिक तथा भारतीय पर्यटकको आकर्षणको केन्द्र बन्दै गएको छ । यहाँ रहेको रानी ताल केवल प्राकृतिक सम्पदा मात्र होइनन्, स्थानीय इतिहास, किंवदन्ती र सांस्कृतिक पहिचानसँग समेत जोडिएको छ । अहिले ‘रानी ताल’ भनेर परिचित यो क्षेत्रको पुरानो नाम भने ‘मावरक’ हो । लिम्बू भाषामा ‘मा’को अर्थ देवी र ‘वरक’को अर्थ पोखरी हुन्छ । मावरकको अर्थ ‘देवीको पोखरी’ हो । समयक्रमसँगै यही नाम परिवर्तन हुँदै ‘रानी ताल’का रूपमा परिचित बन्न पुगेको हो । तर सँगै रहेको राजा ताल भने अहिले झण्डै लोप हुने अवस्थामा छ । वर्षौंदेखि यी दुई ताललाई एकीकृत गरी पूर्वी नेपालकै ठूलो जल पर्यटन केन्द्र बनाउने सपना स्थानीयले देख्दै आएका छन् ।
राजारानी क्षेत्रमा रहेको रानी ताल अहिले निजी पहल, स्थानीय समुदायको सक्रियता र पर्यटकीय पूर्वाधार विकासका कारण चर्चित गन्तव्यमा रूपान्तरण भइसकेको छ ।

स्थानीयकै सजगतामा निजी जग्गमा रहेको ताललाई अहिले सहकारीको माध्यमबाट ठुलो बनाएर पूर्वकै चर्चित पर्यटकीय स्थलको रुपमा चिनाउन सफल भएका छन् । बोटिङ, मोटरबोट, साइक्लिङ, विशाल पिङ, आकर्षक फूलबारी, फोटो स्पट र विश्रामस्थल निर्माण भएपछि यहाँ दैनिकजसो पर्यटक पुग्ने गरेका छन् । धनकुटासँगै सुनसरी, मोरङ, झापा, इलाम, उदयपुर, पाँचथरलगायत जिल्लाबाट आउने आन्तरिक पर्यटकका साथै भारतको दार्जिलिङ, सिक्किम र बिहारबाट समेत पर्यटक यहाँ पुग्ने गरेका स्थानीय बताउँछन् ।

रानी तालको सौन्दर्यले पर्यटकहरुलाई त्यहाँ नै दिन बिताउन बाध्य पार्ने गरेको छ । विराटनगरबाट घुम्न पुगेका सन्तोष दाहालले रानी तालको सौन्दर्य देखेर मोहित भएको बताए । विराटनगर नै फर्किने गरी गएका उनी त्यो दिन रानी ताल क्षेत्रमै बास बसेको बताउँछन् । विराटनगरबाट गएका पत्रकार मोहन ढकालले भने राजा तालपनि संरक्षण गरेर अझ ठुलो बनाउन सके नमूना गन्तव्य हुने धारणा राख्छन् । अहिले जसरी रानीतालको सौन्दर्यकरण गरिएको छ त्यसै गरी राजा तालको पनि सौन्दर्यकरण गर्ने हो भने धेरै जसो पुगेका पर्यटक एक रात भएपनि त्यो क्षेत्रमै बास बसेर मात्रै फर्किने उनको धारणा छ ।

तर रानी तालसँगै रहेको राजा ताल भने अझै पूर्ण रूपमा विकास हुन सकेको छैन । निजी स्वामित्वको जग्गा, लगानी अभाव र कानुनी जटिलताका कारण वर्षौंदेखि यसको संरक्षण तथा विकासको योजना अघि बढ्न सकेको थिएन । केही समयअघिसम्म स्थानीय जनप्रतिनिधिहरूले समेत बजार विस्तार, सडक निर्माण र निजी जग्गासम्बन्धी समस्याका कारण अब राजा र रानी ताललाई जोड्ने सम्भावना लगभग समाप्त भएको बताएका थिए ।
तर अहिले भने अवस्था फेरिएको छ ।

चौबिसे गाउँपालिकाका अध्यक्ष राजकुमार लिम्बूका अनुसार कोशी प्रदेश सरकारले आयोजना गरेको लगानी सम्मेलनमा राजा ताल परियोजनालाई समावेश गरेपछि वर्षौंदेखि रोकिएको योजना पुनः अघि बढ्ने वातावरण बनेको छ । परियोजनामा लगानी गर्ने सहमति भइसकेको र यही असार महिनादेखि नै प्रारम्भिक काम सुरु हुने विश्वास उनले व्यक्त गरे ।

“केही समयअघि सम्म राजा र रानीको भेट नहुने भन्ने चिन्ता थियो,“ अध्यक्ष लिम्बूले भने, “तर अहिले प्रदेश सरकारले लगानीको वातावरण मिलाइदिएको छ । लगानीकर्ता पनि तयार भइसकेका छन् । निजी स्वामित्वमा रहेको जग्गाका धनीलाई सेयर साझेदार बनाउने वा आवश्यक परे जग्गा लिजमा लिएर भए पनि राजा ताल निर्माण गर्ने सहमति भइसकेको छ ।“

उनका अनुसार परियोजना कार्यान्वयनमा स्थानीय समुदायलाई प्रत्यक्ष सहभागी गराइनेछ । जग्गाधनीको अधिकार सुरक्षित गर्दै उनीहरूलाई परियोजनाबाट हुने आम्दानीमा समेत साझेदार बनाउने मोडलमा काम गरिने भएकाले विगतमा देखिएका धेरै समस्या समाधान हुने विश्वास गरिएको छ ।
राजारानी क्षेत्रको विकासबारे चर्चा भने नयाँ होइन । करिब डेढ दशकअघि नै राजा र रानी ताललाई जोडेर भी आकारको विशाल जलाशय निर्माण गर्ने अवधारणा अघि सारिएको थियो । यदि दुवै तालको दक्षिणतर्फ रहेको गल्छी क्षेत्रमा बाँध निर्माण गर्न सकिएको भए करिब एक किलोमिटरभन्दा लामो विशाल ताल बन्ने र त्यसले पूर्वी नेपालकै महत्वपूर्ण जल पर्यटन केन्द्रको रूप लिने अनुमान गरिएको थियो ।

तर समयमै आवश्यक लगानी जुट्न सकेन । निजी जग्गा व्यवस्थापन, क्षतिपूर्ति, लाभ बाँडफाँड र पुनस्र्थापनाका विषयमा स्थानीयबीच सहमति हुन नसक्दा योजना अघि बढ्न सकेन । त्यसपछि स्थानीय तहको पुनर्संरचनापछि राजारानी बजार विस्तार हुँदै गयो भने राजा तालको बीच भाग हुँदै भेडेटार–रवि–राँके राजमार्ग विस्तार भएपछि दुवै ताललाई जोड्ने सम्भावना झन् जटिल बन्दै गयो ।

यही कारणले केही समयअघि गाउँपालिकाले समेत यो योजना अब सम्भव नभएको निष्कर्ष निकालेको थियो । तर प्रदेश सरकारको पछिल्लो पहलले त्यो धारणा फेरिएको छ ।

चौबिसे गाउँपालिकामा नै तीन चार दिनसम्म पर्यटक अड्याउन राजारानी क्षेत्र महत्वपुर्ण हुने उनको धारणा छ । भेडेटार–रवि–राँके राजमार्गको थुम्कीमा बेला बेलामा गइरहने पहिरोले सडक अवरोध गर्दा भने पर्यटकहरु त्यहाँसम्म नपुगी फर्किनु पर्ने अबस्था रहेको भन्दै उनले सडकको पहिरो रोक्न सरकारले पहल गर्नु पर्ने बताउँछन् ।

यसअघि निजी पहलमा विकास गरिएको रानी तालले भने राजारानी क्षेत्रको पर्यटनलाई नयाँ उचाइमा पु¥याइसकेको छ । यसको श्रेय स्थानीय युवा सुकपाल चेम्जोङलाई जान्छ । करिब आठ वर्ष कुवेतमा वैदेशिक रोजगारी गरेर गाउँ फर्किएका उनले आफ्नो जन्मथलोमै केही स्थायी काम गर्ने उद्देश्यले उपेक्षित पोखरीलाई पर्यटकीय तालमा रूपान्तरण गर्ने अभियान सुरु गरेका थिए ।

२०६३ सालतिर स्थानीयसँग मिलेर सुरु भएको संरक्षण अभियानमा प्रारम्भिक चरणमा गाउँपालिकाको केही सहयोग भए पनि निजी जग्गामा सरकारी लगानी गर्न कानुनी समस्या आएपछि सरकारी सहयोग रोकिएको थियो । त्यसपछि चेम्जोङले आफ्नै लगानी, श्रम र नेतृत्वमा ताल विस्तार, पानीका मुहान संरक्षण, बाँध निर्माण र पर्यटकीय पूर्वाधार विकासलाई निरन्तरता दिए ।

अहिले करिब १०४ रोपनी क्षेत्रफलमा फैलिएको रानी तालमा बोटिङ, मोटरबोट, साइक्लिङ, फूलबारी, विशाल पिङ, फोटो स्पट, विश्रामस्थल तथा मनोरञ्जनका अन्य संरचना निर्माण भइसकेका छन् । पछिल्ला तीन वर्षयता उनी पूर्ण रूपमा तालको व्यवस्थापन र सौन्दर्यीकरणमा केन्द्रित छन् ।

स्थानीयका अनुसार रानी तालको विकासले राजारानी क्षेत्रको परिचय नै परिवर्तन गरिदिएको छ । अहिले यहाँ दैनिक सयौंको संख्यामा पर्यटक पुग्ने गरेका छन् । स्थानीय होटल, रेस्टुरेन्ट, साना व्यवसाय तथा कृषि उत्पादनको बजार समेत विस्तार भएको छ । विद्यालयहरूले शैक्षिक अवलोकन भ्रमणका लागि पनि रानी ताललाई प्राथमिकतामा राख्न थालेका छन् । रानी ताल संरक्षण समितिका कोषध्यक्ष काजीमान लिम्बू राजा ताल निर्माणको काम सुरु हुन सके अझ बढी पर्यटक भित्रिने अपेक्षामा छन् । प्रदेश सरकारले राजा ताललाई महत्व दिएको खबर पाएपछि उत्साहित रहेका लिम्बूले रानी तालले परिचय दिलाएको राजारानीको पर्यटनमा राजा ताल अझ बढी महत्वपूर्ण हुने बताए ।


यता, राजा तालमा लगानी भित्रिने तयारीसँगै स्थानीयवासी पनि उत्साहित बनेका छन् । गाउँपालिकाका अनुसार राजा ताल निर्माण सम्पन्न भएपछि दुवै ताललाई समेटेर जल पर्यटन, वातावरण संरक्षण तथा स्थानीय आर्थिक विकासलाई जोड्ने एकीकृत योजना कार्यान्वयन गरिनेछ । त्यसअन्तर्गत जलक्रीडा, पदमार्ग, पर्यटकीय विश्रामस्थल, होटल तथा अन्य आवश्यक पूर्वाधार निर्माण गर्ने दीर्घकालीन लक्ष्य राखिएको छ ।

अध्यक्ष लिम्बूका अनुसार चौबिसे गाउँपालिकाभित्र रहेका अन्य आधा दर्जन साना–ठूला तालको संरक्षण तथा प्रवद्र्धनलाई समेत आगामी योजनासँग जोडिनेछ । राजारानी परियोजना सफल भए समग्र क्षेत्रलाई प्राकृतिक जल पर्यटन गन्तव्यका रूपमा विकास गर्न सहज हुने उनको विश्वास छ ।
स्थानीयका अनुसार पर्यटनको विस्तारले रोजगारी सिर्जना, होटल व्यवसाय, यातायात, कृषि उत्पादन तथा स्थानीय उद्यममा समेत सकारात्मक प्रभाव पार्नेछ ।

त्यसैले यो परियोजना केवल ताल निर्माणको योजना नभई समग्र चौबिसे क्षेत्रको आर्थिक विकाससँग जोडिएको महत्वाकांक्षी परियोजना मानिएको छ ।

प्रतिक्रिया
हाम्रो बारे

श्री पल्स खबर प्रा लि
बिराटनगर – ५,मोरंग।
९८५२०२०७५७

[email protected]

सूचना प्रसारण विभाग

दर्ता प्रमाणपत्र नम्बर: ५०६५-२०८१/२०८२

टीमहरु

कार्यकारी निर्देशक : नवलप्रसाद उपाध्याय

सम्पादक  : नविन पहाडी

कार्यकारी सम्पादक : शशांक पौडेल

प्रमुख सम्वाददाता : सौरभ फुयल

बजार व्यवस्थापक :संजोग पौडेल

 

 

सम्पर्क

बिज्ञापनको लागी:

9862006206