१२ आषाढ २०८३, शुक्रबार

२० वर्ष पुगेका अविवाहित छोरीलाई प्रोत्साहन रकम, अभिभावकलाई सम्मान गरिने

Logo
Pulse Khabar शुक्रबार, आषाढ १२, २०८३

जनकपुरधाम: धनुषाको धनौजी गाउँपालिकाले २० वर्ष उमेर पूरा भई अविवाहित रहेका छोरीहरूको उच्च शिक्षालाई प्रोत्साहन गर्न अभिभावकलाई सम्मान र छोरीहरूलाई शैक्षिक प्रोत्साहन रकम उपलब्ध गराउने भएको छ ।

गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८३/८४ को नीति तथा कार्यक्रम र बजेटमा उक्त योजना समावेश गर्दै यसबाट छोरीहरूको उच्च शिक्षामा पहुँच बढ्ने र बालविवाह न्यूनीकरणमा सहयोग पुग्ने अपेक्षा गरिएको छ ।धनौजी गाउँपालिकाको १५औँ गाउँसभामा प्रस्तुत नीति तथा कार्यक्रममा गाउँपालिकावासीले शिक्षा, स्वास्थ्य, प्रशासनिक सेवा तथा व्यापार–व्यवसायका लागि जिल्ला सदरमुकाम जनकपुरधाम आउजाउ गर्नुपर्ने अवस्थालाई ध्यानमा राख्दै धनौजीदेखि जनकपुरधामसम्म न्यून शुल्कमा बस सेवा सञ्चालन गर्ने भएको छ । स्थानीयवासीलाई सुलभ यातायात सुविधा उपलब्ध गराउने उद्देश्यले धनौजीदेखि जनकपुरधामसम्म न्यून शुल्कमा बस सेवा सञ्चालन गर्दा स्थानीय नागरिकको दैनिक आवागमनलाई सहज बनाउने लक्ष्य लिएको हो ।गाउँपालिका अध्यक्ष राजकुमार साहले गाउँसभामा नीति तथा कार्यक्रम प्रस्तुत गर्नुहुँदै न्यून शुल्कमा नियमित बस सेवा सञ्चालन गरी स्थानीय नागरिकको यातायात खर्च कम गर्ने र सहज पहुँच सुनिश्चित गर्ने लक्ष्य रहेको बताउनुभयो ।धनौजी गाउँपालिका धनुषाको दक्षिणी क्षेत्रमा अवस्थित स्थानीय तह हो । यहाँका बासिन्दा विभिन्न कामका लागि दैनिक रूपमा जनकपुरधाम आउजाउ गर्दै आएका छन् ।निजी सवारीसाधनको अभाव तथा सार्वजनिक यातायातको अनियमितताका कारण स्थानीय नागरिकले सास्ती भोग्दै आएकाले गाउँपालिकाले आफ्नै पहलमा बस सेवा सञ्चालन गर्ने योजना अघि सारिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत राजकुमार दासले बताउनुभयो ।

यस्तै गाउँपालिकाले स्वास्थ्य, पोषण, शिक्षा, कृषि तथा सामाजिक सुरक्षाका कार्यक्रमलाई आगामी वर्षको प्रमुख प्राथमिकतामा राखेको छ । नीति तथा कार्यक्रममा बहुक्षेत्रीय पोषण कार्यक्रमलाई प्रभावकारी रूपमा कार्यान्वयन गर्दै आगामी पाँच वर्षभित्र धनौजी गाउँपालिकालाई पूर्ण पोषणयुक्त गाउँपालिका घोषणा गर्ने लक्ष्य लिइएको छ । कुपोषण न्यूनीकरण, मातृ तथा शिशु स्वास्थ्य सुधार र पोषणसम्बन्धी जनचेतना अभिवृद्धिका कार्यक्रम सञ्चालन गरिने जनाइएको छ ।गाउँपालिकाले ज्येष्ठ नागरिकलाई घरमै पुगेर नियमित आधारभूत स्वास्थ्य सेवा उपलब्ध गराउने व्यवस्था मिलाइने भएको छ । स्वास्थ्यकर्मीमार्फत नियमित स्वास्थ्य परीक्षण, परामर्श तथा आवश्यक उपचार सेवा प्रदान गर्ने नीति लिइएको गाउँपालिकाले जनाएको छ ।स्वास्थ्य सेवाको पहुँच विस्तार गर्न ज्येष्ठ नागरिक तथा सुत्केरी महिलाका लागि निःशुल्क एम्बुलेन्स सेवा सञ्चालन गर्ने र घरबाट जिल्ला अस्पतालसम्म उपचारका लागि लैजान निःशुल्क एम्बुलेन्स सुविधा उपलब्ध गराइने तथा उहाँहरूको नियमित स्वास्थ्य परीक्षणको व्यवस्था समेत मिलाइने प्रमुख प्रशासकीय अधिकृत दासले बताउनुभयो । कृषि क्षेत्रलाई आत्मनिर्भर र व्यावसायिक बनाउने उद्देश्यले ‘एक गाउँ अनेक उद्यान’ कार्यक्रम सञ्चालन गरिने भएको छ । यस कार्यक्रममार्फत गाउँका विभिन्न क्षेत्रमा फलफूल तथा अन्य कृषि बालीका उद्यान विकास गरिनेछ ।

कृषि उत्पादन वृद्धि, रोजगारी सिर्जना तथा किसानको आयआर्जन बढाउने लक्ष्यसहित किसानलाई विभिन्न प्रकारका अनुदान कार्यक्रम पनि सञ्चालन गरिने गाउँपालिकाले जनाएको छ ।गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत दासका अनुसार कृषि उत्पादन वृद्धि, स्वास्थ्य सेवा विस्तार, पोषण सुधार, सामाजिक सुरक्षा तथा पूर्वाधार विकासलाई आगामी वर्षको बजेट तथा कार्यक्रमको केन्द्रमा राखिएको छ । स्थानीय आवश्यकता र नागरिकका अपेक्षालाई सम्बोधन गर्ने गरी नीति तथा कार्यक्रम तर्जुमा गरिएको उहाँले बताउनुभयो ।धनौजी गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि रु ६० करोड ६५ लाख ५७ हजारको बजेट प्रस्ताव गरेको छ । गाउँसभामा प्रस्तुत बजेटअनुसार चालुतर्फ रु ३५ करोड १० लाख ५७ हजार तथा पुँजीगततर्फ रु २५ करोड ५५ लाख विनियोजन गरिएको छ ।गाउँपालिका अध्यक्ष साहले प्रस्तुत गर्नुभएको बजेटमा शिक्षा, स्वास्थ्य, कृषि, सामाजिक सुरक्षा, सडक तथा पूर्वाधार विकास, खानेपानी, सरसफाइ र संस्थागत सुदृढीकरणका कार्यक्रमलाई प्राथमिकता दिइएको छ । बजेट तथा कार्यक्रम कार्यान्वयनबाट स्थानीय नागरिकको जीवनस्तर सुधार हुनुका साथै गाउँपालिकाको समग्र सामाजिक तथा आर्थिक विकासमा टेवा पुग्ने अपेक्षा गरिएको छ ।

प्रतिक्रिया
हाम्रो बारे

श्री पल्स खबर प्रा लि
बिराटनगर – ५,मोरंग।
९८५२०२०७५७

[email protected]

सूचना प्रसारण विभाग

दर्ता प्रमाणपत्र नम्बर: ५०६५-२०८१/२०८२

टीमहरु

कार्यकारी निर्देशक : नवलप्रसाद उपाध्याय

सम्पादक  : नविन पहाडी

कार्यकारी सम्पादक : शशांक पौडेल

प्रमुख सम्वाददाता : सौरभ फुयल

बजार व्यवस्थापक :संजोग पौडेल

 

 

सम्पर्क

बिज्ञापनको लागी:

9862006206