बनियानी (झापा): जिल्लाको अर्जुनधारा नगरपालिका–१ का विपन्न तथा आवासविहीन सात परिवारलाई बुधबार घर प्रदान गरिएको छ ।
गरिबी निवारण कार्यक्रमअन्तर्गत अर्जुनधारा नगरपालिका र यहाँस्थित हचुमासा सामुदायिक वन उपभोक्ता समूहको संयुक्त लगानीमा घर निर्माण गरी विपन्न परिवारलाई प्रदान गरिएको हो ।बुधबार यहाँ आयोजित एक कार्यक्रममा घर हस्तान्तरण गर्दै अर्जुनधारा नगरपालिकाका प्रमुख बलदेवसिंह गोम्देनले विपन्न तथा आवासविहीन परिवारलाई सुरक्षित आवास उपलब्ध गराउने उद्देश्यले योजना कार्यान्वयनमा ल्याइएको बताउनुभयो । “विपन्न नगरवासीलाई आवासको हक प्रत्याभूति गराउने उद्देश्यले घर निर्माण गरेर हस्तान्तर गरेका हौँ”, उहाँले भन्नुभयो ।
हचुमासा सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष अमर राईले निर्धारित समयभित्र मापदण्ड अनुसारको घर निर्माण गरी लक्षित परिवारलाई हस्तान्तरण गरिएको बताउनुभयो । गरिबी निवारण गर्ने उद्देश्यले वन समूहले नगरपालिकासँग सहकार्य गरेको उल्लेख गर्दै उहाँले आगामी दिनमा यस प्रकारका कार्यक्रमलाई निरन्तरता दिने बताउनुभयो ।हचुमासा सामुदायिक वन उपभोक्ता समूहबाट रु १० लाख, अर्जुनधारा नगरपालिकाबाट रु १० लाख, जनसहभागिताबाट रु एक लाख तथा श्रमदानबापत रु दुई हजार ८५३ को लगानीमा घर निर्माण गरिएको छ । घरमा बरन्डासहित दुई वटा कोठा र भान्सा रहेका छन् ।
