तानसेन (पाल्पा): यहाँका महिला आत्मनिर्भर बन्ने उद्देश्यसहित सीप सिक्न थालेका छन् ।
स्थानीय सरकारको सहयोगमा उनीहरू प्रशिक्षणमा सहभागी भएका हुन् ।विपन्न वर्ग तथा समुदायलाई लक्ष्य गरी स्थानीय सरकारले सीप विकाससम्बन्धी तालिम सञ्चालन गरेपछि उद्यम गरेर आत्मनिर्भर हुन उनीहरू प्रशिक्षणमा आकर्षित भएका हुन् ।केही महिला सीप सिकेर स्वरोजगार बनेका छन् भने केही सीप सिकिरहेका छन् । तानसेन नगरपालिका–५ कैलाशनगरकी मालती अधिकारीले भन्नुभयो, “सीप सिक्छौँ, आत्मनिर्भर बन्छौँ, आयआर्जनको क्रियाकलापमा प्रत्यक्ष संलग्न हुन्छौँ, यसअघि स्वेटर, टोपी, मोजालगायत बुन्न सिकेको र अहिले वडा कार्यालयको सहयोगमा जुत्ता, चप्पल बनाउन सिकेको सीपले हाम्रो जीवनस्तर सुधार हुने ठानेकी छु ।” उहाँले भन्नुभयो, “सानो लगानीमा पनि व्यवसाय गर्न सकिने भएकाले आर्थिक अवस्थामा उक्सने आशा छ ।”उद्यमी अधिकारीजस्तै यहाँका ३४ जना महिलाले जुत्ता, चप्पल बनाउन सिकेका छन् । सीप विकासमार्फत विपन्न समुदायका महिलालाई आत्मनिर्भर बनाउन तालिम दिइएको वडाध्यक्ष रामबहादुर रावलले बताउनुभयो । सीप र रोजगारलाई प्राथमिकता दिँदै दक्ष जनशक्ति र उद्यमी उत्पादन गर्नेगरी वडाले काम गरिरहेको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, “महिला र युवालाई सीपसँग जोड्दै क्षमता विकास गर्ने र उत्पादन गरेका वस्तु बजारसम्म पुर्याउनका लागि हामीले सहजीकरण गर्दै आएका छौँ ।” तालिमबाट महिला उद्यमी बन्ने र नगरभित्र आर्थिक चलायमान बढ्ने उहाँले विश्वास व्यक्त गर्नुभयो ।
सानो पुँजीमा व्यवसाय सञ्चालन गर्न सकिने भएकाले महिला सजिलै आत्मनिर्भर बन्न सक्ने रावलको भनाइ छ ।सधैँजसो मेलापात, चुलोचौका र घरधन्दामै दैनिकी बिताउँदै आउनुभएका रामपुरका महिला पनि ४५ दिने होजियारी तालिमपछि गाउँमै स्वेटर, मोजा, टोपी र मफलर बुन्न सक्ने भएका छन् । रामपुर नगरपालिकाले होजियारी तालिम सञ्चालन गरेपछि सुइडा पनि नदेखेका महिलाले स्वेटर, मोजा, टोपी र मफलर बुन्ने भएका छन् । तालिममा सहभागी सीता रेग्मीले भन्नुभयो, “हामीले सुइडा पनि देखेका थिएनौँ । पहिलो दिनमा त निकै अलमलिएका थियौँ । सीप सिक्ने इच्छाका साथ दैनिक प्रयास गरेपछि अब स्वेटर, मोजा, टोपी र मफलर बुन्ने भएका छौँ ।” रामपुर नगरपालिकाले उपप्रमुख ग्रामीण महिला उत्थान कार्यक्रमअन्तर्गत आधारभूत होजियारी तालिम लिएका ग्रामीण महिलाका लागि ४५ दिनको तालिम दिएपछि महिलाहरू स्वरोजगार बन्ने दिशामा लागेका हुन् । नगरप्रमुख रमणबहादुर थापाले महिलालाई व्यावसायिक र आत्मनिर्भर बनाउन नगरपालिकाले सीपमूलक तालिम सञ्चालन गर्दै आएको बताउनुभयो । कतिपय महिला तालिम लिएर व्यवसाय बजारको सुनिश्चितता पनि पालिकाले गर्ने उहाँले बताउनुभयो ।
