०८ आषाढ २०८३, सोमबार

झापामा लागुऔषध नियन्त्रणका लागि विशेष अभियान सुरु

Logo
Pulse Khabar सोमबार, आषाढ ०८, २०८३

झापा: पछिल्लो समय लागुऔषध सेवन र कारोबारमा संलग्न युवायुवतीको सङ्ख्या वृद्धि भएको छ ।

नेपालको पूर्वी जिल्ला झापामा पनि यो सामाजिक समस्याकै रुपमा अघि बढिरहेको छ । जिल्ला कारागार र प्रहरी हिरासतमा लागुऔषध सेवन र कारोबारमा संलग्न अभियुक्तको सङ्ख्या पनि ठूलो छ ।अहिले झापा मात्रै लागुऔषधका सक्रिय प्रयोगकर्ता र ओसारपसारमा संलग्नको २० हजारभन्दा बढी रहेको जिल्ला प्रहरी कार्यालयका प्रमुख वसुन्धरा खड्काले बताउनुभयो । लागुऔषधका ओसारपसार र सेवन गरेको अभियोगमा झापामा नौ सयभन्दा बढी व्यक्ति कारागार र हिरासतमा रहेको उहाँले जानकारी दिनुभयो ।उहाँका अनुसार झापा कारागारमा रहेका कैदी ३७६ जना, पुर्पक्षका लागि थुनामा ३४० जना र अनुसन्धानको सिलसिलामा प्रहरी हिरासतमा २०८ जनाले लागुऔषधको बेचबिखन र ओसारपसार संलग्न भएको कसुर खेपिरहेका छन् ।लागुऔषध दुव्र्यसनको उपचारका लागि जिल्लाका ४२ वटा सुधार केन्द्रमा एक हजार २६२ भन्दा बढी व्यक्ति भर्ना र प्रादेशिक अस्पताल भद्रपुरमा १३३ जना नियमित उपचारमा छन् । लागुऔषध सेवनकर्ताको यकिन तथ्याङ्क सार्वजनिक नभए पनि जिल्लामा १५ हजारभन्दा बढी रहेको हुनसक्ने प्रहरीको अनुमान छ ।

वार्षिक तथ्याङ्कले झापामा लागुऔषधको घटना बढिरहेको देखाएको छ । लागुऔषधजन्य अभियोगमा आर्थिक वर्ष २०७८÷०७९ मा २०० जना, २०७९÷०८० मा २०६ जना, २०८०÷०८१ मा २९७(दुई सय सन्तान्नब्बे ) जना, २०८१÷०८२ मा ३४५ जना र चालु आव २०८२÷०८३ को जेठसम्ममा ३५२ जना व्यक्ति पक्राउ परेका छन् ।जिल्लामा लागुऔषधबाट सबैभन्दा बढी प्रभावित मेचीनगर नगरपालिका रहे तापनि भद्रपुर, बिर्तामोड र दमक पनि रहेको प्रहरीले जनाएको छ । चालु आव २०८२÷०८३ को ११ महिनाको अवधिमा सबैभन्दा बढी अभियुक्त मेचीनगरमा पक्राउ परेको पाइएको छ । भारतबाट लागुऔषध लिएर नेपाल प्रवेश गरेको अवस्थामा मेचीनगरको सीमावर्ती क्षेत्रबाट ९२(बयान्नब्बे) जना, भद्रपुरबाट ७७, बिर्तामोडबाट ४५, दमकबाट ३२, अर्जुनधाराबाट १६, गौरीगंजबाट १३, कमलबाट सात, गौरादहबाट छ, बुद्धशान्तिबाट ५, कचनकवलबाट दुई र हल्दिवारीबाट एक जना पक्राउ परेको प्रहरीले जनाएको छ ।

लागुऔषध प्रयोगको कारण समाजमा चोरी, डकैती, घरेलु हिंसा, आत्महत्या, दुर्घटना, मानसिक र शारीरिक रोग, पारिवारिक बिखण्डन, सामाजिक अस्थिरता र डरजस्ता समस्या बढेको प्रहरी उपरीक्षक खड्का बताउनुहुन्छ । झापामा प्रहरीले लागुऔषधको नियन्त्रणका लागि विशेष अभियान सञ्चालन गरेको छ ।लागुऔषधको सेवन र कारोवारीको सङ्ख्या बढ्दै गएपछि स्थानीय तह र समुदायसँग मिलेर त्यसको प्रभावकारी नियन्त्रणका लागि अभियान सञ्चालन गरिएको प्रहरी उपरीक्षम खड्काले बताउनुभएको छ । लागुऔषधसम्बन्धी समस्या न्यूनीकरण गर्न, आयात नियन्त्रण र क्षतिको न्यूनीकरण गर्ने योजनासहित प्रहरीले अभियानको पहिलो चरणमा विद्यालयमा सचेतनामूलक प्रचारप्रसार कार्यक्रम सञ्चालन गरिरहेको छ ।दोस्रो चरणमा लागुऔषधविरुद्धको सेचतनामूलक कक्षा सञ्चालन गर्न १५० जनाभन्दा बढी शिक्षकलाई तालिम दिइने छ भने तेस्रो चरणमा प्रहरी र स्थानीय युवाबीच मैत्रीपूर्ण खेलकुद गरिनेछ । चौथो चरणमा ७१ वटा प्रहरी एकाइमार्फत समुदायस्तरीय लागुऔषध नियन्त्रण क्लब गठन गरिने भएको छ ।

प्रतिक्रिया
हाम्रो बारे

श्री पल्स खबर प्रा लि
बिराटनगर – ५,मोरंग।
९८५२०२०७५७

[email protected]

सूचना प्रसारण विभाग

दर्ता प्रमाणपत्र नम्बर: ५०६५-२०८१/२०८२

टीमहरु

कार्यकारी निर्देशक : नवलप्रसाद उपाध्याय

सम्पादक  : नविन पहाडी

कार्यकारी सम्पादक : शशांक पौडेल

प्रमुख सम्वाददाता : सौरभ फुयल

बजार व्यवस्थापक :संजोग पौडेल

 

 

सम्पर्क

बिज्ञापनको लागी:

9862006206