

काठमाडौं । अर्थमन्त्री डा. प्रकाशशरण महतले आन्तरिक श्रोत र साधनबाट खर्च धान्न मुस्किल भइरहेको बताउनुभएको छ । शुक्रबार नेपाल व्यवस्थापन संघको ललितपुरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । उदारता देखाएर ज्येष्ठ नागरिक भत्तादेखि विभिन्न अनुदानका विषयहरु सुनिश्चित गर्दा समस्या आएको बताउनु भयो । उहाँले नेपालको स्थायी दायित्व धेरै नै ठूलो रहेको बताउनु भयो । द्वन्द्वपछि नेपाली सुरक्षा निकायको दायरा धेरै ठूलो भएको बताउनु भयो । नेपाली सेनामा झन्डै दोब्बर जनशक्ति थपिएको र सशस्त्र प्रहरी बल छुट्टै निर्माण हुँदा झनै आर्थिक दबाब बढेको अर्थमन्त्री महतले बताउनु भयो । संघीय संरचनामा गइसकेपछि आर्थिक दायित्व झनै बढेको भएपनि आन्तरिक श्रोत र साधनबाट उठेको राजश्वले राज्यका सबै दायित्वहरु धान्न कठिन हुँदै गएको बताउनु भयो । अर्थमन्त्री महतले साधनश्रोतहरु प्राथमिकीकरण गरेर अघि बढ्न जरुरी रहेको बताउनु भयो ।