२२ जेठ २०८३, शुक्रबार

महिला आयोगकी सदस्य पौडेलको कृति ‘नारी रेखा’ लोकार्पण

Logo
Pulse Khabar शुक्रबार, जेठ २२, २०८३

काठमाडौँ: नेपाली समाजमा महिलाले विगतदेखि वर्तमानसम्म भोग्दै आएका सङ्घर्ष, पीडा, चुनौती, साहस र सफलताका विविध आयाम समेटिएको राष्ट्रिय महिला आयोगका सदस्य कृष्णकुमारी पौडेलद्वारा लिखित ‘नारी रेखा’ पुस्तक लोकार्पण गरिएको छ ।

नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेललगायतले लोकार्पण गर्नुभएको उक्त पुस्तकमा नारीको सङ्घर्ष र जीवनको यथार्थ चित्रण छ । कार्यक्रममा महामन्त्री पौडेलले लोकतन्त्र प्राप्तिका विभिन्न आन्दोलनदेखि राष्ट्र निर्माणका हरेक क्षेत्रमा नेपाली महिलाको योगदान अतुलनीय रहेको बताउनुभयो ।उहाँले नेपाली महिलाले लामो समयसम्म सामाजिक, आर्थिक तथा राजनीतिक विभेद र उत्पीडन सहँदै पनि आफ्नो अधिकारका लागि निरन्तर सङ्घर्ष गरेको स्मरण गर्नुभयो ।उहाँले महिलाको योगदानबिनाको लोकतान्त्रिक आन्दोलन, सामाजिक रूपान्तरण तथा विकासको परिकल्पना गर्न नसकिने उल्लेख गर्दै ‘नारी रेखा’ पुस्तकले नेपाली समाजका विभिन्न तह र वर्गका महिलाले भोगेका यथार्थ घटनालाई उजागर गरेको बताउनुभयो । पुस्तकका लेखिका पौडेलले नारी रेखाको सृजनाको प्रेरणा महिलाका वास्तविक जीवन कथाहरूबाट प्राप्त भएको बताउनुभयो । उहाँले देशका विभिन्न भूगोल, समुदाय र सामाजिक परिवेशमा रहेका महिलासँग प्रत्यक्ष संवाद, अध्ययन तथा अवलोकनपछि पुस्तक तयार पारिएको जानकारी दिनुभयो ।

पुस्तकमाथि टिप्पणी गर्दै प्रा डा सुरेन्द्र केसीले ‘नारी रेखा’ केवल साहित्यिक कृतिमात्र नभई समाज अध्ययनको महत्त्वपूर्ण दस्तावेजका रूपमा रहेको बताउनुभयो ।राष्ट्रिय मानवअधिकार आयोग तथा राष्ट्रिय महिला आयोगकी पूर्वसदस्य मोहना अन्सारीले महिलालाई अझै पनि समाजका कतिपय क्षेत्रमा कमजोर रूपमा हेर्ने प्रवृत्ति रहेको बताउनुभयो । उहाँले महिलाले राष्ट्र निर्माण, लोकतान्त्रिक आन्दोलन, सामाजिक परिवर्तन र विकासका हरेक क्षेत्रमा अग्रणी भूमिका निर्वाह गरिरहेको बताउनुभयो ।राष्ट्रियसभाका नेपाली कांग्रेसका संसदीय दलका नेता कमला पन्त, लेखा समितिका सभापति भरतबहादुर खड्का र कानुन, न्याय तथा मानवअधिकार समितिका सभापति समीक्षा बाँस्कोटालगायतले महिलाको सशक्तीकरण, समान सहभागिता र अधिकार सुनिश्चितताका लागि यस्ता कृतिले महत्त्वपूर्ण भूमिका खेल्ने धारणा राख्नुभयो ।उक्त पुस्तकले नेपाली महिलाको विगत, वर्तमान र भविष्यका सम्भावनालाई समेट्दै लैङ्गिक समानता, सामाजिक न्याय तथा समावेशी विकासको बहसलाई थप सशक्त बनाउने विश्वास गरिएको छ ।

प्रतिक्रिया
हाम्रो बारे

श्री पल्स खबर प्रा लि
बिराटनगर – ५,मोरंग।
९८५२०२०७५७

[email protected]

सूचना प्रसारण विभाग

दर्ता प्रमाणपत्र नम्बर: ५०६५-२०८१/२०८२

टीमहरु

कार्यकारी निर्देशक : नवलप्रसाद उपाध्याय

सम्पादक  : नविन पहाडी

कार्यकारी सम्पादक : शशांक पौडेल

प्रमुख सम्वाददाता : सौरभ फुयल

बजार व्यवस्थापक :संजोग पौडेल

 

 

सम्पर्क

बिज्ञापनको लागी:

9862006206