विराटनगर: विराटनगर महानगरपालिकाले विश्व वातावरण दिवसको अवसरमा आज दुई संस्थालाई सम्मान गरेको छ ।
वातावरण संरक्षण, हरियाली विस्तार तथा जलवायु परिवर्तन न्यूनीकरणमा उल्लेखनीय योगदान पुर्याउने दुई संस्था ‘गो ग्रिन’ र ‘सुनौलो अवसर युवा क्लब’ लाई सम्मान गरेको हो ।महानगर परिसरमा आयोजित विशेष कार्यक्रममा वातावरणीय सचेतना अभिवृद्धि, वृक्षारोपण प्रवद्र्धन तथा समुदायस्तरमा वातावरण संरक्षणका गतिविधि सञ्चालन गर्दै आएका गो ग्रिन विराटनगर र सुनौलो अवसर युवा क्लबलाई सम्मान गरिएको हो ।कार्यक्रममा ‘गो ग्रिन’ विराटनगरका नवीनचन्द्र अधिकारी र ‘सुनौलो अवसर युवा क्लब’ का पुष्पराज गिरीलाई खादा, माला तथा सम्मानपत्र प्रदान गरेर सम्मान गरियो । उहाँहरु दुवै जनाले हरित विराटनगर अभियानलाई प्रभावकारी ढङ्गले सञ्चालन गर्ने प्रतिबद्धता जनाउनु भएको छ ।विराटनगर महानगरपालिकाका प्रमुख नागेश कोइरालाले वातावरणीय सङ्कट विश्वकै साझा चुनौती बनेको उल्लेख गर्दै यसको समाधानका लागि सरकार, निजी क्षेत्र, सामाजिक संस्था र नागरिक सबैको सक्रिय सहभागिता आवश्यक रहेको बताउनुभयो ।
पछिल्ला वर्षहरूमा बढ्दो तापक्रम, अनियमित वर्षा र प्रदूषणका कारण वातावरणीय जोखिम तीव्र बन्दै गएको उल्लेख गर्दै प्रमुख कोइरालाले प्रत्येक घर, विद्यालय, उद्योग तथा संघसंस्थाले वृक्षारोपणलाई अभियानकै रूपमा अघि बढाउनुपर्नेमा जोड दिनुभयो ।‘हरित वातावरण बिना दिगो विकास सम्भव छैन,’ उहाँले भत्रुभयो , ‘आज रोपिएको एउटा बिरुवाले भोलिको पुस्तालाई स्वच्छ हावा, शीतल वातावरण र सुरक्षित भविष्य दिन सक्छ ।’निमित्त प्रमुख प्रशासकीय अधिकृत रामप्रसाद ढुङ्गेलले विराटनगरलाई व्यवस्थित, स्वच्छ र हरित सहरका रूपमा विकास गर्न सबै पक्षको सहकार्य अपरिहार्य रहेको बताउनुभयो । वातावरण शाखाका प्रमुख इन्जिनियर राकेश ठाकुरले वातावरण संरक्षणका क्षेत्रमा नागरिक सहभागिता बढाउन महानगरले विभित्र सचेतनामूलक तथा हरियाली प्रवद्र्धन कार्यक्रम सञ्चालन गर्दै आएको जानकारी दिनुभयो ।
