काठमाडौं:सरकारले निजामती तथा सार्वजनिक सेवामा कार्यरत कर्मचारीहरूको आधारभूत तलब १० प्रतिशतले वृद्धि गर्ने घोषणा गरेको छ ।
अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले बजेट वक्तव्यमार्फत पछिल्लो चार वर्षदेखि तलब समायोजन नहुँदा र मूल्यवृद्धि १७.३ प्रतिशतसम्म पुगेकाले कर्मचारीहरूको जीवनयापन सहज बनाउन नयाँ तलब संरचना ल्याइएको बताएका हुन् । नयाँ व्यवस्थाअनुसार आधारभूत तलबसँगै १० प्रतिशत प्रोत्साहन भत्ता र यसअघि दिइँदै आएको पाँच हजार रुपैयाँ महँगी भत्ता पनि निरन्तर रहने भएकाले समग्रमा करिब २१ प्रतिशतसम्म तलब वृद्धि हुने अनुमान गरिएको छ ।नयाँ तलब संरचनापछि सबैभन्दा माथिल्लो तहका मुख्यसचिवको मासिक कुल पारिश्रमिक करिब ९८(अन्ठान्नब्बे) हजार ४२५ रुपैयाँ पुग्ने भएको छ । हाल ७७ हजार २११ रुपैयाँ आधारभूत तलब पाइरहेका मुख्यसचिवको तलब ८४ हजार ९३२( नौ सय बत्तिस) रुपैयाँ पुगेको छ । जसमा प्रोत्साहन भत्ता र महँगी भत्ता जोडिँदा कुल रकम झन्डै एक लाख नजिक पुगेको हो ।सचिव स्तरका कर्मचारीहरूको पनि करिब सात हजार रुपैयाँ हाराहारी आधारभूत तलब वृद्धि भएको बताइएको छ । त्यसैगरी, सबैभन्दा तल्लो तहका कर्मचारी मानिने कार्यालय सहायकहरूको तलब पनि उल्लेखनीय रूपमा बढ्ने भएको छ ।हाल २७ हजार ६११ रुपैयाँ आधारभूत तलब पाउँदै आएका उनीहरूको तलब ३० हजार ३७२ रुपैयाँ पुगेको छ । प्रोत्साहन भत्ता र महँगी भत्ता जोड्दा उनीहरूको मासिक आम्दानी करिब ३८ हजार रुपैयाँसम्म पुग्ने छ ।
अर्थमन्त्री वाग्लेका अनुसार नयाँ व्यवस्थाले न्यूनतम तहका कर्मचारीको आधारभूत तलब करिब ४० हजार रुपैयाँसम्म पुग्ने अवस्था बनाएको छ ।सरकारले पेन्सन प्रणालीमा पनि नयाँ समायोजन लागू गर्ने जनाएको छ । पेन्सन प्राप्त गर्ने कर्मचारीहरूले आफ्नो आधारभूत तलबको दुईतिहाइ हिस्सा आधार मानेर थप वृद्धि पाउनेछन् । जसअनुसार पूर्वमुख्यसचिवहरूको पेन्सन करिब पाँच हजार रुपैयाँले बढ्ने अनुमान गरिएको छ ।यसअघि २०७९ सालको बजेटमार्फत १५ प्रतिशत तलब वृद्धि भएयता कर्मचारीहरूको तलबमा पुनः समायोजन भएको थिएन । त्यतिबेला मासिक दुई हजार रुपैयाँ महँगी भत्ता दिइँदै आएकोमा पछिल्लो वर्षदेखि पाँच हजार रुपैयाँ एकमुष्ट महँगी भत्ता दिइँदै आएको हो ।सरकारले आगामी दिनमा नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना, शिक्षक तथा सार्वजनिक संस्थानका कर्मचारीहरूको तलब पनि यही संरचनासँग समायोजन हुने जनाएको छ । सबै सार्वजनिक सेवामा नयाँ तलबमान र सुविधासम्बन्धी विस्तृत विवरण केही दिनभित्र सार्वजनिक गरिने छ ।
