सिरहा: यहाँको लहान नगरपालिका–१० मा निर्माणाधीन लहान नगर अस्पतालको भवन निर्माणकार्य अन्तिम चरणमा पुगेको छ । स्थानीय नागरिकलाई सहज र गुणस्तरीय स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्यका साथ तीव्रगतिमा अघि बढाइएको उक्त अस्पतालको भौतिक पूर्वाधार निर्माण करिब ८० प्रतिशतभन्दा बढी सम्पन्न भइसकेको छ ।
नगरपालिका र निर्माण व्यवसायीबीच भएको सम्झौताअनुसार आगामी असार १५ गतेभित्रै भवन निर्माण सम्पन्न गरी पालिकालाई हस्तान्तरण गर्ने तयारी भइरहेको छ । हाल लहानमा प्रादेशिक अस्पताल सञ्चालनमा छ । तर, उक्त अस्पतालमा सिरहाका मात्र नभई छिमेकी जिल्ला सप्तरी र उदयपुरसम्मका नागरिक उपचारका लागि आउने गरेका छन् । तीनवटा जिल्लाको साझा उपचार केन्द्रजस्तो बनेकाले प्रादेशिक अस्पतालमा दैनिक रूपमा बिरामीको अत्यधिक चाप हुने गरेको छ, जसका कारण सर्वसाधारणले समयमा पालो नपाउने र सास्ती खेप्नुपर्ने बाध्यता छ ।
अब सुविधासम्पन्न नगर अस्पताल बनेपछि प्रादेशिक अस्पतालमा बिरामीको चाप निकै घट्ने र व्यवस्थापन सहज हुने विश्वास लिइएको छ । लहान नगरवासीले आफ्नै नगर अस्पतालबाट आकस्मिक र विशेषज्ञ सेवा पाउने भएपछि प्रादेशिक अस्पतालमा छिमेकी जिल्लाबाट आउने सर्वसाधारणले पनि छिटोछरितो सेवा पाउने वातावरण बन्नेछ ।
निर्माणाधीन नगर अस्पतालको भवन मूल्य अभिवृद्धि कर (भ्याट)सहित कुल १२ करोड ५२ लाख १९ हजार रुपैयाँको लागतमा निर्माण भइरहेको हो । लहान नगरपालिका र निर्माण कम्पनी मल्टिटेक कन्स्ट्रक्सन एन्ड सप्लायर्सबीच २०८० साल चैत १५ गते यसको निर्माण सम्झौता भएको थियो ।
लहान नगरपालिकाका प्रमुख महेशप्रसाद चौधरीले यस अस्पताललाई आफ्नो कार्यकालको एक महत्त्वपूर्ण र गौरवको आयोजनाका रूपमा लिएको बताउनुभयो । नगरप्रमुख चौधरीका अनुसार यो अस्पताल विशेषगरी आधारभूत स्वास्थ्य सेवाबाट वञ्चित गरिब, विपन्न र ग्रामीण क्षेत्रका नागरिकका लागि वरदान सावित हुनेछ ।
उहाँले भन्नुभयो, “लहानमा प्रादेशिक अस्पताल भए पनि छिमेकी जिल्ला सप्तरी र उदयपुरदेखिका बिरामी आउने भएकाले त्यहाँ सधैँ चाप हुन्थ्यो । हाम्रा नगरवासीले सामान्य उपचारका लागि पनि लामो समय कुर्नुपर्ने अवस्था थियो । नगरमै यो अर्को सुविधासम्पन्न अस्पताल बनेपछि त्यो चाप स्वतः सहज हुनेछ । यो १५ शय्याको अस्पतालमा मुख्य रूपमा प्रसूति (मातृशिशु) तथा बालरोगसम्बन्धी विशिष्टीकृत सेवा उपलब्ध गराइनेछ । अहिले दुई तलाको काम सकिन लागेको छ भने तेस्रो तलामा आवश्यकताअनुसार थप संरचना व्यवस्थापनका लागि ट्रष्ट हाल्ने नगरको योजना छ ।”
अस्पताल भवनको प्राविधिक तथा भौतिक संरचना निकै सुविधासम्पन्न र वैज्ञानिक ढङ्गले डिजाइन गरिएको छ । निर्माण व्यवसायी मल्टिटेक कन्स्ट्रक्सन एन्ड सप्लायर्सका प्रबन्धक महेशकुमार देवका अनुसार अस्पतालमा कोठाको सङ्ख्या र व्यवस्थापन बिरामी तथा चिकित्सकलाई सहज हुनेगरी मिलाइएको छ ।
प्रबन्धक देवले निर्माणको प्रगतिबारे जानकारी दिँदै भन्नुभयो, “हामीले गुणस्तरमा कुनै सम्झौता नगरी दिनरात काम गरिरहेका छौँ । अस्पतालको पहिलो तलामा प्रशासनिक, आकस्मिक (इमर्जेन्सी) र ओपिडी सेवासहित ४० वटा कोठा रहनेछन् भने दोस्रो तलामा जनरल वार्ड, प्रसूतिगृह र अपरेसन थियटरसहित ६२ वटा कोठा रहनेछन् । सम्झौताको म्याद आगामी असार १५ गतेसम्ममात्र छ । हामी निर्धारित समयभित्रै सम्पूर्ण काम दुरुस्त पारेर स्थानीय सरकारलाई भवन हस्तान्तरण गर्ने दाबी गर्दछौँ ।”
हाल लहान नगरपालिकाको कुल जनसङ्ख्या एक लाख १० हजारभन्दा बढी छ । यो अस्पताल सञ्चालनमा आएपछि नगरका २४ वटै वडाका नागरिकले प्रत्यक्ष रूपमा गुणस्तरीय र सुलभ स्वास्थ्योपचार सेवा पाउनेछन् । विशेषगरी लहानको उत्तरी भेग र ग्रामीण क्षेत्रका गर्भवती तथा बालबालिका सामान्य उपचार र प्रसूति सेवाका लागि पनि टाढाका सहर वा निजी क्लिनिकमा महँगो शुल्क तिर्न बाध्य छन् । नगरले भवन हस्तान्तरणलगत्तै अस्पतालको आन्तरिक व्यवस्थापन र जनशक्ति मिलाएर सेवा सञ्चालन गर्ने लक्ष्य राखेको छ ।
