

विराटनगर । सत्तामा सहकार्य टुटेपछि रवि लामिछानेको विषयमा कांग्रेसले अनावश्यक बखेडा झिकेको प्रधानमन्त्री पुष्पकमल दाहालले दाबी गर्नुभएको छ ।
आज विराटनगर विमानस्थलमा संचारकर्मीसँग गृहमन्त्री रवि लामिछानेको विषयमा समस्या सृजना गरेको भन्दै उहाँले यो राजनीतिक पूर्वाग्रह भएको बताउनुभयो । अहिले गठबन्धन भत्किएपछि गृहमन्त्री रवि लामिछानेलाई केन्द्रमा राखेर समस्या सिर्जना गरिएको उहाँले बताउनुभयो ।
प्रतिनिधिसभामा केही दिनयता देखिएको गतिरोध चाँडै अन्त्य हुने उहाँले बताउनुभयो । राजनीतिक तहमा संवाद सुरु भएको भन्दै उहाँले चाँडै निकास निस्किने दाबी गर्नुभयो ।
प्रधानमन्त्रीले देशैभरि सहकारीको समस्या उत्पन्न भएको भन्दै सहकारीसँग सम्बन्धित मुद्दा र रवि लामिछानेको विषयको मुद्दाबारे अलग अलग अध्ययन गरी समस्या समाधान गरिने जानकारी दिनुभयो ।