विराटनगर:बर्न (जलन) सम्बन्धी समुदायस्तर सचेतना कार्यक्रम विराटनगर–११ स्थित वडा कार्यालयको हलमा भव्य रूपमा सम्पन्न भएको छ। कार्यक्रमको आयोजना “बीभीएस नेपाल” ले गरेको थियो भने सहयोग एलायन्स युवा क्लबले गरेको थियो।
कार्यक्रममा आगलागी तथा जलनका प्रमुख कारण, यसबाट बच्ने उपाय, ग्यास तथा विद्युतीय उपकरण प्रयोग गर्दा अपनाउनुपर्ने सावधानीका विषयमा सहभागीहरूलाई जानकारी गराइएको थियो। साथै जलन भइहालेमा तत्काल अपनाउनुपर्ने प्राथमिक उपचारबारे समेत सचेतना प्रदान गरिएको आयोजकले जनाएको छ।
समुदायस्तरमा जनचेतना अभिवृद्धि गर्ने उद्देश्यले आयोजित कार्यक्रममा स्थानीय युवायुवती तथा सर्वसाधारणको उल्लेखनीय सहभागिता रहेको थियो। वक्ताहरूले सचेतना र सावधानी अपनाए धेरै जलनका घटनाबाट बच्न सकिने बताएका थिए। कार्यक्रमको अन्त्यमा “सचेत बनौँ, सुरक्षित रहौँ, अरूलाई पनि बचाऔँ” भन्ने सन्देशसमेत प्रवाह गरिएको थियो।
