

विराटनगर । कोशी प्रदेश प्रमुखको कार्यालयमा प्रदेश सभा अधिवेशन आह्वान सम्बन्धी दुई वटा निवेदन परेको छ । सोमबार सरकारलाई दिएको समर्थन फिर्ता लिएका एमाले र माओवादी केन्द्रको एउटा तथा सरकारको तर्फबाट अर्को निवेदन परेको हो ।
दुई वटै निवेदन प्रदेश प्रमुखको कार्यालयमा दर्ता भएको छ । हतारमा २०८१ जेठ ११ गतेका लागि संसदको पाँचौ नियमित अधिवेशन आव्हानको लागि निवेदन दर्ता गराउन मुख्यमन्त्री कार्यालयबाट मुख्यमन्त्री कार्कीको निवेदन पुगेको थियो ।
एमाले र माओवादी केन्द्रका सांसदहरुले दर्ता गर्नु भन्दा अगाडी दर्ता गर्न खोज्दा मिति नै गलत लेखेपछि मुख्यमन्त्री कार्यालयको निवदेन दर्ता हुन सकेन् ।
प्रदेशसभामा ५२ सांसदले अधिवेशन माग गरेको निवेदन पहिले दर्ता भएको थियो । मुख्यमन्त्री कार्यालयले मन्त्रिपरिषद्को निर्णय भन्दै सुरुमै पत्र दर्ता गर्न खोजेका थिए । तर पत्रमा मिति ‘२०८० जेठ ११’ गते उल्लेख भएपछि प्रदेश प्रमुखले फिर्ता पठाउनुभयो ।
मुख्यमन्त्री कार्यालयले फेरि ‘२०८१ जेठ ११’ गतेको मिति राखेर अर्को पत्र पठाएपछि मात्रै पत्र दर्ता भएको थियो । नेकपा एमाले र माओवादी केन्द्रका ५२ जना सांसदले हस्ताक्षर गरेर विशेष अधिवेशन माग गरेका छन् । सँगै मुख्यमन्त्री केदार कार्कीले २०८१ जेठ ११ गते शुक्रबार संसदको पाँचौं नियमित अधिवेशन आह्वानका लागि निवेदन दिनुभएको हो ।
प्रदेश प्रमुखको कार्यालयले दुवै निवेदन दर्ता गरेको छ । तर मुख्यमन्त्रीले दिएको निवेदनको आधारमा नियमित अधिवेशन आह्वान गर्ने कि र एमाले–माओवादीले माग गरेअनुसार विशेष अधिवेशन आह्वान गर्ने भन्ने विषयमा प्रदेश प्रमुख पर्शुराम खापुङ कानुनी परामर्शमा छन् ।
प्रदेश प्रमुखको कार्यालयका निमित्त सचिव नरेन्द्र श्रेष्ठले दुवै निवेदनका विषयमा प्रदेश प्रमुखले कानुनी परामर्श गरिरहेको जानकारी दिनुभयो । संविधानको धारा १८३ को ३ मा प्रदेशसभा सदस्यको एक चौथाइ सदस्यले माग गरेको अवस्थामा विशेष अधिवेशन आह्वान हुन्छ ।
नियमित अधिवेशन आह्वानका लागि पत्र पठाएका मुख्यमन्त्री केदार कार्की प्रदेश प्रमुख संविधान अनुसार अघि बढ्दा सरकारको सिफारिस कार्यान्यन गरी नियमित अधिवेशन आह्वान गर्नुपर्ने बताउनुहुन्छ ।
प्रदेश प्रमुख खापुङले कानुनी परामर्श गरेर अघि बढ्ने बताउनुभयो । संविधानको धारा १८८ को उपधारा २ अनुसार विशेष अधिवेशन आह्वान गरेका कारण उहाँले मिति तोकेर अधिवेशन आह्वान गर्ने सम्भावना बढी रहेको प्रदेश प्रमुख कार्यालय स्रोतले जनाएको छ ।