वीरगञ्ज : पर्सा राष्ट्रिय निकुञ्जले त्रिभुवन राजपथअन्तर्गत पथलैया-अमलेखगञ्ज सडक विस्तारका क्रममा आठ किलोमिटर दूरीमा जनावर वारपार गर्नका लागि दुई वटा ‘ओभरपास’ निर्माण गर्न सडक विभागसँग प्रस्ताव गरेको छ । सो खण्डमा सवारीसाधन अत्यधिकमात्रामा गुड्ने हुँदा विभिन्न समयमा वन्यजन्तुको प्राकृतिक स्थान तथा वन्यजन्तु दुर्घटनामा पर्ने जोखिम रहेकाले सडक विस्तारका क्रममा कम्तीमा दुई वटा ओभरपास निर्माण गर्नका लागि सुझाव दिएको हो । पर्सा राष्ट्रिय निकुञ्जका सूचना अधिकारी सन्तोषकुमार भगतले निकुञ्ज क्षेत्र अतिसंवेदनशील हुने भएकाले पनि सडक विस्तार गर्दा जनावरमैत्री र जनावरको सुरक्षामा विशेष ध्यान दिनका लागि अनुरोध गर्नुभयो ।
“सवारीसाधनको ठक्करले राजमार्गमा दुई दर्जनभन्दा बढी वन्यजन्तुको मृत्यु भएको छ”, उहाँले भन्नुभयो, “निकुञ्जको कोरएरिया पर्ने आठ किलोमिटरमा ओभरपास निर्माण गरेको खण्डमा दुर्घटनाबाट हुने क्षतिलाई केही न्यूनीकरण गर्न सकिन्थ्यो ।” अमलेखगञ्ज-पथलैया सडकखण्डमा बेलाबखत हात्तीले सवारीसाधनलाई लखेट्ने तथा मानव र वन्यजन्तुबीच द्वन्द्व पनि हुने गरेको छ । चालु आर्थिक वर्षको चैतसम्म सवारी दुर्घटनामा परेर एउटा चितुवाको मृत्यु भएको निकुञ्ज कार्यालयले जनाएको छ । पथलैया–अमलेखगञ्ज सडकखण्डमा सवारी दुर्घटनामा परेर दुई वटा जरायो, पाँच वटा चित्तल र १५ वटा बाँदरको मृत्यु भएको निकुञ्जका सूचना अधिकारी भगतले जानकारी दिनुभयो । प्राकृतिक कारणले अन्य तीन वटा जनावरको मृत्यु भएको छ ।
सूचना अधिकारी भगतले सवारी दुर्घटनाबाट वन्यजन्तु जोगाउनका लागि ट्राफिक सचेतनामूलक कार्यक्रम सञ्चालन गर्दै आइरहेको बताउनुभयो । उहाँले सवारी चालकलाई थप ट्राफिक सचेतना उपलब्ध गराउन सरोकार भएका सबैले समन्वय गर्नुपर्ने आवश्यकता औँल्याउनुभयो । सडक डिभिजन हेटौँडाका इन्जिनियर भोलाप्रसाद साहले सडक विस्तार गर्दा निकुञ्ज क्षेत्रमा ओभरपास निर्माण गर्नुपर्नेलगायत सुझाव आएकाले सडक विभागमा पठाइएको जानकारी दिनुभयो ।