१४ बैशाख २०८३, सोमबार

मुस्ताङमा यार्सा सङ्कलन सुरु

Logo
Pulse Khabar सोमबार, बैशाख १४, २०८३

मुस्ताङ: मुस्ताङका विभिन्न स्थानमा यार्सागुम्बा सङ्कलन सुरु भएको छ । यहाँको तल्लो क्षेत्र थासाङ गाउँपालिकाअन्तर्गत कुञ्जो, कोवाङ र टुकुचे संरक्षण क्षेत्र व्यवस्थापन समितिअन्तर्गतका उच्च लेकमा यार्सागुम्बा सङ्कलन सुरु भएको हो ।

यार्सागुम्बा समून्द्री सहतको तीन हजारदेखि छ हजार मिटरको उचाइमा पाइने जडीबुटी हो । यहाँका वारागुङ मुक्तिक्षेत्र, घरपझोङ र थासाङ गाउँपालिकाका आधा दर्जनभन्दा बढी स्थानमा हरेक वर्ष वैशाखदेखि असार मसान्तसम्म यार्सा सङ्कलन हुन्छ । यार्सा सङ्कलनका लागि जिल्लाका स्थानीय, जिल्लामा अस्थायी बसोबार गरेका व्यक्ति र जिल्ला बाहिरबाट उल्लेख्य व्यक्तिहरु लेक पुग्छन् ।

अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) अन्तर्गतका संरक्षण क्षेत्र व्यवस्थापन समिति (सीएमसी)हरुले शुल्क लिएर यार्सागुम्बा सङ्कलनका लागि अनुमति दिने गरेको एक्याप जोमसोमका प्राकृतिक स्रोत सरक्षण सहायक दीपक ओलीले जानकारी दिनुभयो । कार्यालयहरुले यार्सा सङ्कलनको अवधिभर कार्यविधि र मापदण्ड निर्धारण गर्छ । सङ्कलनका क्रममा हुनसक्ने जोखिम, चोरी शिकारी, वन डढेलो, अवान्छित र अपराधजन्य घटना रोकथाम गर्ने सर्त उल्लेख गरी अनुमति दिने चलन छ ।

थासाङ गाउँपालिकाको कोवाङ सीएमसीले सर्वसाधारण नागरिकलाई यार्सा सङ्कलन पूर्जी वितरण गरेको समितिका अध्यक्ष जीवन थकालीले जानकारी दिनुभयो । उहाँका अनुुसार स्थानीयलाई रु तीन हजार ५०० र जिल्ला बाहिरबाट आउनेलाई रु सात हजार शुल्क उठाउने गरिएको छ ।

कोवाङ समितिले मुलिखर्क, मुली, पड्के, ठूलो सरे र सानुसरेलगायतका लेकमा यार्सा सङ्कलन फुकुवा गरेको छ । समितिको लेकका लागि हालसम्म नौ स्थानीयसहित ८७ जनाले अनुमति लिएका छन् ।

थासाङको बतासेमा पनि सङ्कलन फुकुवा भइसकेको छ । उक्त लेकका लागि ४५ जनाले अनुमति लिएका छन् । टुकुचे समितिले स्थानीयलाई रु एक हजार रुपैयाँ र जिल्ला बाहिरका व्यक्तिलाई रु तीन हजार शुल्क तोकेको छ ।

थासाङको कुञ्जो लेकमा पनि यार्सा सङ्कलन सुरु भइसकेको छ । घरपझोङ गाउँपालिकास्थित संरक्षण व्यवस्थापन समितिले वैशाख २५ गतेदेखि यार्सागुम्बा सङ्कलन अनुमति दिने तयारी गरेकोसमितिका सचिव पवन गुरुङले जानकारी दिनुभयो ।

जोमसोम समितिले जोमसोम, ठिनी र ढुम्बा गाउँका स्थानीयलाई यार्सा सङ्कलनका लागि रु चार हजार र सोही क्षेत्रमा अस्थायी बसोबास गरी घरखेत कमाएर बसेका व्यक्तिलाई प्रतिव्यक्ति रु छ हजार शुल्क तोकेको छ ।

वारागुङ मुक्तिक्षेत्र—१ को मुक्तिनाथ संरक्षण क्षेत्र व्यवस्थापन समितिले आगामी जेठ २ गतेदेखि यार्सा सङ्कलन फुकुवा गर्ने तयारी गरेको छ । मुक्तिनाथ संरक्षण क्षेत्र व्यवस्थापन समितिले नेर झोङ, लिरी, रिसम्बा र छिमीघ्वा लगायतका लेकहरुमा यार्सा संकलन गर्ने अनुमति दिने गरेको समितिका सचिव लाक्पाटसी गुरुङले जानकारी दिनुभयो ।

यार्सा सङ्कलन गर्ने व्यक्ति वा व्यापारीले जिल्ला बाहिर यार्सा निकासी गर्नुपरेमा रु तीन हजार १०० रुपैयाँ राजश्व बुझाउनु पर्ने नियम छ ।

प्रतिक्रिया
हाम्रो बारे

श्री पल्स खबर प्रा लि
बिराटनगर – ५,मोरंग।
९८५२०२०७५७

[email protected]

सूचना प्रसारण विभाग

दर्ता प्रमाणपत्र नम्बर: ५०६५-२०८१/२०८२

टीमहरु

कार्यकारी निर्देशक : नवलप्रसाद उपाध्याय

सम्पादक  : नविन पहाडी

कार्यकारी सम्पादक : शशांक पौडेल

बजार व्यवस्थापक :संजोग पौडेल

 

 

सम्पर्क

बिज्ञापनको लागी:

9862006206