११ बैशाख २०८३, शुक्रबार

लहान नगरपालिकाद्वारा मुसहर बस्तीमा आवास निर्माण

Logo
Pulse Khabar बुधबार, बैशाख ०९, २०८३

सिरहा: यहाँको लहान नगरपालिका–२१ कालाबञ्जरस्थित हुरी प्रभावित मुसहर समुदायका लागि नगरपालिकाले पक्की घर निर्माण गरिदिने भएको छ । गत शनिबार साँझ आएको विनाशकारी हुरीले घरको छाना उडाउनुका साथै भौतिक क्षति पुर्याएपछि बिचल्लीमा परेका परिवारका लागि नगरपालिकाले सुरक्षित आवासको व्यवस्था गर्न लागेको हो ।

नगरपालिकाले ‘ह्याबिट्याट फर ह्युमानिटी’ सँगको साझेदारीमा २१ नयाँ सुरक्षित घर निर्माण गर्ने र फुसको छाना उडेका सातवटा घरमा जस्तापाता लगाउने गरी आवास व्यवस्थापनको योजना अघि बढाएको छ । यसै सन्दर्भमा नगरप्रमुख महेशप्रसाद चौधरीले मङ्गलबार प्रभावित बस्तीको स्थलगत निरीक्षण गर्दै केही साताभित्रै निर्माण सुरु गर्नेगरी प्राविधिकहरूले नापजाँचको काम थालिसकेको जानकारी दिनुभयो ।

निरीक्षणका क्रममा नगरप्रमुख चौधरीले भन्नुभयो, “नगरवासीको सुरक्षित बसोबास, शिक्षा र स्वास्थ्य हाम्रो मुख्य प्राथमिकता हो । वातावरणमैत्री पक्की घर बनेपछि यहाँका नागरिकलाई प्राकृतिक विपद्को समयमा सधैँका लागि ढुक्क हुनेछ ।” यसअघि यहाँका पीडित घरपरिवारलाई नगरपालिकाको तर्फबाट राहत वितरण गरिसकेको उहाँले जानकारी दिनुभयो ।

नगरपालिकाले भूमिहीन तथा सुकुम्बासी परिवारको दीर्घकालीन व्यवस्थापनका लागि दोस्रो चरणमा थप ५०० वटा घर निर्माण गर्ने योजना अघि सारेको छ । सुकुम्बासी परिवारलाई सुरक्षित स्थानमा स्थानान्तरण गर्ने रणनीतिअनुसार प्राथमिकताका आधारमा यो योजना कार्यान्वयन गरिने नगरप्रमुखले बताउनुभयो ।

गत शनिबारको हुरीले लहान–२४ मा जनता आवास कार्यक्रमअन्र्तगत निर्माण भएका सात र वडा नं १९ मा एक स्थानीयको घरमा समेत क्षति पुर्याएको थियो । सोही हुरीका कारण सखुवानन्कारकट्टी गाउँपालिका–२ मक्रमपुरमा घरको पर्खाल भत्किँदा ६० वर्षीया किसुनवती यादवको मृत्यु भएको थियो ।

प्रतिक्रिया
हाम्रो बारे

श्री पल्स खबर प्रा लि
बिराटनगर – ५,मोरंग।
९८५२०२०७५७

[email protected]

सूचना प्रसारण विभाग

दर्ता प्रमाणपत्र नम्बर: ५०६५-२०८१/२०८२

टीमहरु

कार्यकारी निर्देशक : नवलप्रसाद उपाध्याय

सम्पादक  : नविन पहाडी

कार्यकारी सम्पादक : शशांक पौडेल

बजार व्यवस्थापक :संजोग पौडेल

 

 

सम्पर्क

बिज्ञापनको लागी:

9862006206