विश्वका दुई ठूला अर्थतन्त्रबीच सम्बन्ध सुधार्ने सङ्केत देखिँदै जाँदा चीनले संयुक्त राज्य अमेरिकासँग आर्थिक तथा व्यापारिक सहकार्यलाई अझ सुदृढ बनाउन चाहेको स्पष्ट गरेको छ । प्रतिस्पर्धालाई सहकार्यसँग सन्तुलनमा राख्ने प्रयासस्वरूप बेइजिङले ‘द्वेषपूर्ण प्रतिस्पर्धा’ बाट टाढा रहनुपर्नेमा जोड दिएको छ ।
चीनका वाणिज्यमन्त्री वाङ वेन्टाओले अमेरिकी व्यापार प्रतिनिधि जेमिसन ग्रियरसँग भएको भेटमा बहुपक्षीय र क्षेत्रीय व्यापार सहकार्यलाई विस्तार गर्न चीन इच्छुक रहेको बताउनुभयो । वाणिज्य मन्त्रालयले शुक्रबार सार्वजनिक गरेको विवरण अनुसार उहाँले दुई देशबीचको सम्बन्धलाई प्रतिस्पर्धा र सहकार्यबीच सन्तुलित ढङ्गले अघि बढाउनुपर्ने र टकरावपूर्ण प्रतिस्पर्धाबाट बच्नुपर्ने धारणा राख्नुभयो ।
दुवै पक्षबीचको यो भेट क्यामरुनको राजधानीमा आयोजित विश्व व्यापार सङ्गठन (डब्लुटिओ) को मन्त्रिस्तरीय सम्मेलनको साइडलाइनमा बिहीबार भएको हो । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको सम्भावित बेइजिङ भ्रमणभन्दा दुई महिनाभन्दा कम समय अघि भएको यो संवादलाई महत्त्वपूर्ण रूपमा हेरिएको छ ।
गत वर्ष अक्टोबरमा युद्धविराममा सहमत हुनुअघि अमेरिका र चीनबीच चर्को व्यापार युद्ध चलेको थियो । त्यसपछि पनि सम्बन्ध पूर्ण रूपमा सहज बन्न सकेको छैन । यस महिनाको सुरुमा पेरिसमा अमेरिकी अर्थमन्त्री स्कट बेसेन्ट र चिनियाँ उपप्रधानमन्त्री हे लिफेङबीच भएको उच्चस्तरीय वार्ताले केही हदसम्म तनाव कम गर्ने सङ्केत दिएको थियो ।
यद्यपि, अमेरिकी कर नीतिहरू, चीनतर्फ झुकेको व्यापार सन्तुलन र उन्नत प्रविधिको निर्यातमा अमेरिकाले लगाएको प्रतिबन्धजस्ता विषयहरू अझै विवादका मुख्य कारण बनेका छन् । यसै सन्दर्भमा वाङ वेन्टाओले हालै सुरु गरिएको अमेरिकी व्यापार अनुसन्धानप्रति गम्भीर चिन्ता व्यक्त गर्नुभयो ।
उक्त अनुसन्धानले चीनसहित करिब ६० अर्थतन्त्रलाई समेट्दै ‘जबरजस्ती श्रमविरुद्ध प्रभावकारी कारबाही भए÷नभएको’ तथा यसले अमेरिकी व्यापारमा नकारात्मक असर पारेको छ कि छैन भन्ने विषयमा अध्ययन गर्ने जनाइएको छ । यसले आगामी दिनमा नयाँ कर लाग्ने सम्भावनालाई पनि सङ्केत गरेको छ ।
यसबीच, ह्वाइट हाउसले राष्ट्रपति ट्रम्पको बेइजिङ भ्रमण मे १४–१५ का लागि तय गरिएको जनाएको छ । मध्यपूर्वमा जारी युद्धका कारण केही समय पछि सारिएको यो भ्रमणलाई दुई देशबीचको सम्बन्ध सुधारका लागि महत्त्वपूर्ण अवसरका रूपमा हेरिएको छ ।