०५ चैत्र २०८२, बिहिबार

तीन जिल्लाका बिरामीलाई सेवा दिँदै एक स्थानीय अस्पताल

Logo
Pulse Khabar बिहिबार, चैत्र ०५, २०८२

तुलसीपुर: यहाँको राप्ती गाउँपालिकाद्वारा सञ्चालित राप्ती आधारभूत अस्पतालबाट तीन जिल्लाका बिरामी लाभान्वित भइरहेका छन् । लुम्बिनी प्रदेश राजधानीसमेत रहेको यस क्षेत्रमा सञ्चालित १५ शय्याको अस्पतालमा दाङको राप्ती, गढवा, बङ्गलाचुली गाउँपालिकासहित छिमेकी जिल्ला प्यूठान र अर्घाखाँचीका विभिन्न क्षेत्रबाट समेत बिरामी आउने गरेका छन् ।

अस्पताल विकास समितिका अध्यक्ष एवं गाउँपालिका अध्यक्ष प्रकाश विष्टले स्थानीय नागरिकलाई लक्षित गरी सञ्चालनमा ल्याइएको अस्पतालमा अन्य क्षेत्र र जिल्लाबाट समेत बिरामी आउने गरेको बताउनुभयो । बिरामीको चाप बढी भएकाले व्यवस्थापनमा केही दबाब भए पनि नागरिकको विश्वास जित्न थालेकाले आफूहरूलाई काम गर्ने हौसला मिलिरहेको उहाँको भनाइ छ ।

“यो अस्पताल स्थानीय नागरिकलाई लक्षित गरी सञ्चालनमा ल्याएका थियौँ, हाल दाङसहित प्यूठान, अर्घाखाँचीसम्मका नागरिकले पनि सेवा लिइरहेका छन् । यो हाम्रो सेवाप्रतिको भरोसा पनि हो”, अध्यक्ष विष्टले भन्नुभयो ।

अस्पतालका प्रशासन प्रमुख पृथ्वी पौडेलले यहाँबाट दैनिक एक सयदेखि डेढ सय बिरामीले सेवा लिने गरेको बताउनुभयो । कुनै कुनै समयमा दैनिक दुई सयसम्म बिरामी आउने गरेको पनि उहाँले जानकारी दिनुभयो । “अस्पतालमा हाल चौबिसै घण्टा आपत्कालीन सेवा, बहिरङ्ग सेवा, भिडियो एक्स–रे, एक्स–रे, प्रयोगशाला, सुरक्षित गर्भपतन, आमा सुरक्षा कार्यक्रम र बिरामी भर्ना गर्ने इन्डोर सेवा सञ्चालनमा छ ।

यस्तै, प्रत्येक महिनाको अन्तिम शनिबार हाडजोर्नीको विशेषज्ञ सेवासमेत सञ्चालनमा छ”, प्रशासन प्रमुख पौडेलले भन्नुभयो ।

हाल यहाँ कन्सल्टेन्ट डाक्टर एकजना, मेडिकल अफिसर चार, स्टाफनर्स, हेल्थअसिस्टेन्ट, अहेब, अनमी पाँच÷पाँच जना तथा एनेस्थेसिया असिस्टेन्ट र असिस्टेन्ट फार्मेसी एक÷एक जना रहेका छन् ।

यस्तै, ल्याब टेक्निसियन एक जना, ल्याब असिस्टेन्ट चार, रेडियोग्राफर दुई, अस्पताल प्रशासक र कम्प्युटर अप्रेटर एक÷एक जना रहेका छन् । सेवा सहजताका लागि अक्सिजन सिलिण्डरसहितको सुविधा सम्पन्न एम्बुलेन्स पनि व्यवस्था गरिएको छ ।

हाल अस्पतालमा आएका सामान्य बिरामीलाई अन्यत्र पठाउनुपर्ने अवस्था नरहेको र चाँडै शल्यक्रिया सेवासमेत सुरु गर्ने तयारी भइरहेको प्रशासन प्रमुख पौडेलले बताउनुभयो । सकेसम्म विशेषज्ञ सेवा लिन टाढा जान नपरोस् भन्ने उद्देश्यले अस्पतालको सेवा विस्तार गर्न लागिएको उहाँको भनाइ छ ।

प्रतिक्रिया
हाम्रो बारे

श्री पल्स खबर प्रा लि
बिराटनगर – ५,मोरंग।
९८५२०२०७५७

[email protected]

सूचना प्रसारण विभाग

दर्ता प्रमाणपत्र नम्बर: ५०६५-२०८१/२०८२

टीमहरु

कार्यकारी निर्देशक : नवलप्रसाद उपाध्याय

सम्पादक  : नविन पहाडी

कार्यकारी सम्पादक : शशांक पौडेल

बजार व्यवस्थापक :संजोग पौडेल

 

 

सम्पर्क

बिज्ञापनको लागी:

9862006206