०३ चैत्र २०८२, मंगलबार

वन्यजन्तुबाट प्रभावित किसानलाई राहत वितरण

Logo
Pulse Khabar मंगलबार, चैत्र ०३, २०८२

रसुवा: लाङटाङ राष्ट्रिय निकुञ्जभित्रका वन्यजन्तुबाट प्रभावित किसानलाई राहत प्रदान गरिएको छ । निकुञ्ज प्रशासनका अनुसार सबैभन्दा बढी क्षति बँदेल (जङ्गली सुँगुर)बाट भएको छ । चालुआवको हालसम्म वन्यजन्तुबाट एक सय ५७ जना प्रभावित भएका छन् । रेन्जर रूपेश लामाका अनुसार प्रभावितमध्ये बाँदरबाट ३४, बँदेलबाट एक सय ११, चितुवाबाट ११ र भालुबाट एक जना प्रभावित भएका छन् ।

चितुवाको आक्रमणबाट पशुधनतर्फ करिब रु तीन लाख ७० हजारबराबरका बाख्रा–भेडा नोक्सान भएको पनि निकुञ्जले जनाएको छ । वन्यजन्तुबाट हुने क्षतिसम्बन्धी राहत निर्देशिका, २०८० बमोजिम राहत उपलब्ध गराइँदै आएको छ । सोही निर्देशिकाअनुसार मानव र वन्यजन्तु द्वन्द्व न्यूनीकरणका लागि हालसम्म रु १४ लाख ९९ हजार ४०० राहत वितरण गरिएको छ ।

केही किसानको मागअनुसार राहत रकम अपुगका कारण भुक्तानी गर्न बाँकी रहेको रेञ्जर लामाले जानकारी दिनुभयो । स्थानीय अगुवा किसान साधुराम पौडेलका अनुसार रसुवाको उत्तरी क्षेत्रमा भालु र बँदेलको समस्या बढी देखिएको छ भने दक्षिणी क्षेत्रमा बाँदरले बालीमा धेरै क्षति पुर्याउने गरेका छन् ।

वन्यजन्तुले बाली वा पशुधनमा क्षति पुर्याएमा राहत प्राप्त गर्न कृषि तथा पशु सेवा कार्यालयको सिफारिस, प्रहरी प्रतिवेदन, स्थलगत मुचुल्का, निकुञ्ज मध्यवर्ती उपभोक्ता समितिको सिफारिस, निकुञ्ज प्राविधिकको निरीक्षण प्रतिवेदनलगायतका कागजात आवश्यक पर्ने निकुञ्जले जनाएको छ ।

पशुधन क्षति भएको अवस्थामा घटनास्थलको फोटो, मुचुल्का, प्रहरी प्रतिवेदन तथा स्वीकृत चिकित्सकबाट गरिएको पोष्टमार्टम प्रतिवेदनसमेत पेस गर्नुपर्ने निर्देशिकाले उल्लेख गरेको बताइएको छ ।

त्यसैगरी वन्यजन्तुको आक्रमणबाट मानिस घाइते भएमा सरकारी अस्पतालको बिलबमोजिम उपचार खर्च उपलब्ध गराइने व्यवस्था रहेको छ । निकुञ्ज प्रशासनले जङ्गल क्षेत्रमा घाँस काट्न वा आवतजावत गर्दा एक्लै नजान, सम्भव भएसम्म साथी लिएर सावधानीपूर्वक हिँडडुल गर्न स्थानीयवासीलाई आग्रह गरेको छ ।

प्रतिक्रिया
हाम्रो बारे

श्री पल्स खबर प्रा लि
बिराटनगर – ५,मोरंग।
९८५२०२०७५७

[email protected]

सूचना प्रसारण विभाग

दर्ता प्रमाणपत्र नम्बर: ५०६५-२०८१/२०८२

टीमहरु

कार्यकारी निर्देशक : नवलप्रसाद उपाध्याय

सम्पादक  : नविन पहाडी

कार्यकारी सम्पादक : शशांक पौडेल

बजार व्यवस्थापक :संजोग पौडेल

 

 

सम्पर्क

बिज्ञापनको लागी:

9862006206