०१ माघ २०८२, बिहिबार

‘हिट एण्ड रन’ नियन्त्रणमा प्रहरी सक्रिय

Logo
Pulse Khabar बिहिबार, पुष १७, २०८२

नारायणगढ: पछिल्लो समय विभिन्न सवारीसाधनले ठक्कर दिएर फरार हुने (हिट एण्ड रन)का घटना बढ्दै गएका छन् । सवारीसाधनको चाप बढेसँगै दुर्घटना गराएर भाग्ने प्रवृत्ति पनि बढेको प्रहरीको भनाइ छ ।

यस्तो अवस्थामा दुर्घटनापछि चालकले पूरा गर्नुपर्ने कर्तव्यबारे जनचेतना आवश्यक देखिएकाले सचेतनामूलक अभियान सञ्चालनको तयारी भइरहेको छ । जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी उपरीक्षक गोविन्द पुरीका अनुसार ‘हिट एण्ड रन’ गर्नु चालकको गम्भीर लापरबाही हो । यस्तो घटनालाई प्रहरीले नछाड्ने र चालक भागेमा खेजेर कानुनी दायरामा ल्याउने गरिएको उहाँले बताउनुभयो ।

प्रमुख प्रहरी उपरीक्षक पुरीले भन्नुभयो, “हिट एण्ड रनका घटना भएमा प्रहरीले जसरी पनि पत्ता लगाएर कारबाही अघि बढाउँछ । ठक्कर दिएर चालक भागेमा को पनि उम्कन पाएका छैनन् र पाउँदैनन् । प्रहरीले कानुनी कारबाही अवश्य गर्छ ।” उहाँका अनुसार गत साउनयता जिल्लामा १५ वटा हिट एण्ड रनका घटना दर्ता भएका छन् ।

उहाँले भन्नुभयो, “चितवन देशको मध्य भागमा पर्ने सहर हो । पूर्व–पश्चिम राजमार्ग र काठमाडौँ प्रवेश गर्ने मुख्य सडक यहीँ भएर जाने भएकाले यहाँ सवारीको चाप बढी हुन्छ ।” सवारीसाधनको आवागमन बढी हुने भएकाले दुर्घटना पनि तुलनात्मक रूपमा बढी हुने उहाँले बताउनुभयो ।

प्रमुख पुरीका अनुसार जिल्लामा प्रहरी हिट एण्ड रनका घटनालाई नियन्त्रण गर्न विशेष संयन्त्र बनाएर काम गर्दै आइएको छ । उहाँले थप्नुभयो, “राजमार्गमा ठक्कर दिएर भाग्ने प्रवृत्ति देखिन्छ भने भित्री सडकमा पनि यस्ता घटना केही कम हुने गरेका छन् । साउनयता भएका १५ वटै घटनाको प्रहरीले पहिचान गरिसकेको छ ।”

प्रमुख प्रहरी उपरीक्षक पुरीले केही समयअघि एक हिट एण्ड रनको घटनाको वास्तविकता ४९ दिनपछि पत्ता लगाई कानुनी कारबाही अघि बढाइएको उदाहरणसमेत प्रस्तुत गर्नुभयो । दुर्घटना गराएर भाग्नुले समस्या झन् जटिल हुने उल्लेख गर्दै उहाँले भन्नुभयो, “दुर्घटना गरेपछि भागेँ भने बचिहाल्छु, कारबाही हुँदैन भन्ने सोच गलत हो । सवारी चालकले यस्तो सोच सच्याउन जरुरी छ ।”

दुर्घटना भएको खण्डमा तुरुन्तै प्रहरीलाई जानकारी गराई आत्मसर्मपण गर्नुपर्ने उहाँको सुझाव छ । चालकले आफ्नो कमजोरी वा गल्ती स्पष्ट रूपमा प्रहरीलाई बताउनुपर्नेमा उहाँले जोड दिनुभयो । दुर्घटनाको जानकारी तत्काल प्रहरीलाई गराएमा समस्या कम हुने, घाइतेको उपचार छिटो हुने, ज्यान जोगिन सक्ने र कानुनी प्रक्रियासमेत सहज हुने उहाँले बताउनुभयो ।

हिट एण्ड रन गरेर फरार भएमा झन् कडा कारबाही हुनसक्ने विषयका बारेमा पनि प्रमुख प्रहरी उपरीक्षक पुरीले स्पष्ट पार्नुभयो । जिल्ला प्रहरी कार्यालय चितवनले यस्ता हिट एण्ड रनका घटना दोहोरिन नदिन विशेष सतर्कता अपनाएर काम गरिरहेको उहाँले बताउनुभयो ।

प्रतिक्रिया
हाम्रो बारे

श्री पल्स खबर प्रा लि
बिराटनगर – ५,मोरंग।
९८५२०२०७५७

[email protected]

सूचना प्रसारण विभाग

दर्ता प्रमाणपत्र नम्बर: ५०६५-२०८१/२०८२

टीमहरु

कार्यकारी निर्देशक : नवलप्रसाद उपाध्याय

सम्पादक  : नविन पहाडी

कार्यकारी सम्पादक : शशांक पौडेल

बजार व्यवस्थापक :संजोग पौडेल

 

 

सम्पर्क

बिज्ञापनको लागी:

9862006206