नेकपा एमाले को ११औ महाधिबेशनबाट आकर्षक मत सहित केन्द्रिय कमिटी सदस्य पदमा निर्वाचित हुनुभएको तथा नेतृत्व बिकाश अनतर्गत राजनीतिक योगदान, जनआधार र संगठनात्मक क्षमता प्रतिको पार्टीको विश्वासको स्पष्ट प्रमाण सहित विराटनगर महानगरपालिकाको समग्र विकास, सुशासन र सामाजिक समावेशीताको यात्रामा नेकपा (एमाले) की नेतृ तथा विराटनगर महानगरपालिकाकी उपप्रमुख सिल्पा निराला कार्कीको भूमिका उल्लेखनीय रहँदै आएको छ। राजनीतिक यात्रामा अनवरत लागिरहदा उपप्रमुखको जिम्मेवारी सम्हालेपछि सिल्पा निराला कार्कीले महानगरभित्रका बस्ती, टोल र वडास्तरमा प्रत्यक्ष पुगेर नागरिकका समस्या पहिचान गर्ने कार्यशैलीलाई प्राथमिकता दिदै विशेष गरी गरिबी, बेरोजगारी, महिला तथा सीमान्तकृत समुदायका सवाललाई उहाँले नीति तथा कार्यक्रममै समेट्न सफल हुनुभएको छ।
बिराटनगर महानगरपालिकामा महिला सशक्तीकरणका लागि उहाँको पहलमा विभिन्न सीप विकास तालिम, उद्यमशीलता प्रवर्द्धन कार्यक्रम विस्तार गरिएको छ। यसले महिलालाई आत्मनिर्भर बनाउनुका साथै घरपरिवारको आर्थिक सुरक्षामा सकारात्मक प्रभाव पारेको छ। घरेलु हिंसा नियन्त्रण, महिला अधिकार संरक्षण र कानुनी परामर्श सेवामा पनि उहाँले संस्थागत सुधारको पहल गर्नुभएको छ। सामाजिक सुरक्षाका क्षेत्रमा उपप्रमुख कार्कीको सक्रियताले गरिब, अपांगता भएका व्यक्ति, ज्येष्ठ नागरिक र विपन्न वर्गलाई लक्षित कार्यक्रमहरू प्रभावकारी बनेका छन्। प्राकृतिक विपद्, आगलागी, बाढी तथा महामारीका समयमा राहत व्यवस्थापन, समन्वय र अनुगमनमा उहाँले नेतृत्वदायी भूमिका निर्वाह गर्नुभएको सर्वबिदितै छ।
शिक्षा र स्वास्थ्य क्षेत्रलाई महानगर विकासको आधारस्तम्भका रूपमा लिँदै उहाँले सामुदायिक विद्यालयको गुणस्तर सुधार, बालबालिकाको विद्यालय निरन्तरता तथा स्वास्थ्य सचेतना कार्यक्रमलाई प्राथमिकता दिनुभएको छ। नागरिकमैत्री सेवा प्रवाह, डिजिटल प्रणालीको विस्तार र गुनासो सुनुवाइ प्रक्रियामा सुधार ल्याउन उहाँ सक्रिय रहनुभएको छ।
नेकपा (एमाले) को केन्द्रीय कमिटी सदस्यमा निर्वाचित भएसँगै सिल्पा निराला कार्कीको भूमिका स्थानीय तहमा मात्र सीमित नरही राष्ट्रिय राजनीतिमा पनि प्रभावशाली बन्दै गएको छ। यसले विराटनगरको आवाज केन्द्रसम्म पुर्याउन र स्थानीय अनुभवलाई राष्ट्रिय नीतिनिर्माणसँग जोड्न थप अवसर सिर्जना गरेको छ। समग्रमा, विराटनगर महानगरको समावेशी, दिगो र उत्तरदायी विकासमा सिल्पा निराला कार्कीको नेतृत्वले स्पष्ट प्रभाव देखाएको छ। सेवा, सुशासन र जनउत्तरदायित्वमा आधारित उहाँको राजनीतिक यात्राले स्थानीय सरकारप्रति जनविश्वास अझ मजबुत बनाउँदै लगेको छ।
