

विराटनगर । कोशी प्रदेश सरकार र आन्दोलरत पहिचान पक्षबिच आज भएको वार्ता विना निष्कर्ष टुंगिएको छ । आज विराटनगर स्थित बिग होटलमा भएको वार्ता भोलि बिहान ८ बजे बस्ने गरी सकिएको हो । सरकारी वार्ता टोलीका संयोजक भौतिक पूर्वाधार विकास मन्त्री कमलप्रसाद जगेवुले शुक्रबार बिहान ८ बजे वार्ता बस्ने गरी बिहीबारको वार्ता सकिएको बताउनुभयो । आज वार्ता औपचारिक रुपमा सुरु भएको भन्दै उहाँले शुक्रबार बिहानको वार्तापछि मात्रै ठोस छलफल हुने जानकारी दिनुभयो ।
यता आन्दोलनरत पहिचान पक्षधर वार्ता समितिका सदस्य युवराज राईले कोशी नाम खारेजी र आन्दोलनको माग अनुसार पुनः नामाकरणको विषयमा छलफल भएको बताउनुभयो । आन्दोलनको सिलसिलामा घाइते भएकाहरू र झुटा मुद्दामा फसाइएकाहरुको विषय र क्षतिपूर्तिको विषयमा छलफल भएको उहाँको भनाइ छ । सरकारले वर्ताका लागि माघ १२ गते औपचारिक पत्र पठाएको थियो । सरकारले औपचारिक पत्र पठाएपछि आन्दोलनरत पक्षले माघ २४ गते सरकारसँग वार्ता गर्न ११ सदस्यीय समिति गठन गरेको थियो । प्रदेशको नाम कोशी खारेज गरेर पहिचानको आधारमा पुनः नामकरण गर्नुपर्ने माग राख्दै ‘प्रदेश नं. १ पुन नामाङ्कन संयुक्त संघर्ष समिति’ले कोशी नामको विरोधमा आन्दोलन गर्दै आएको छ । यस अघि पनि कोशी प्रदेश सरकारले वार्तासमित गठन गरेर वार्ताको प्रयास गरेको थियो । तत्कालिन मुख्यमन्त्री हिक्मतकुमार कार्की नेतृत्वको सरकारले वार्ता टोलि गठन गरेर वार्ता सुरु गरेपछि पहिलो चरणको वार्ता पछि पुनः वार्ता हुन सकेको थिएन ।