बिनोद प्रकाश कायस्थ ,पुर्व अध्यक्ष ,नेपाल तरुण दल
भाद्र २३/२४ गते पछि नेपालको राजनीति दिनानुदिन आशंकाले आक्रान्त बनेको छ। जनताका प्रतिनिधिहरूले संविधानसभाका माध्यमबाट निर्माण गरेको २०७२ को संविधानले परिकल्पना गरेजस्तै प्रतिनिधिसभाको सदस्य मात्रै देशको प्रधानमन्त्री बन्ने व्यवस्था विपरीत अहिलेको सरकार निर्माण भएको सर्वबिदितै छ।
यो सरकारले आगामी फागुन २१ गते प्रतिनिधिसभा सदस्य को निर्वाचन गर्ने घोषणा गरिरहेको अवस्थामा संसदीय /बहुदलीय व्यवस्थामा राजनीतिक दलहरुले निर्वाचनमा सहभागिता जनाएर जनताबाट अनुमोदित भएर सरकार गठन गर्ने व्यवस्था अनुसार सरकारद्वारा घोषित निर्वाचनको मिति आउन अब केही महिना बाँकी रही रहदा आजको मितिसम्म पनि गम्भीर अपराधमा अदालतबाट दोषी ठहर भएका, भाद्र २४ गते जेलबाट भागेका कैदीबन्दीहरुलाई समात्न सकेको छैन भने लुटिएका हातहतियार र गोला बारुद बरामद गर्न सकेको छैन। यस्तो अवस्थामा निष्पक्ष, स्वतन्त्र र धाँधलीरहित निर्वाचन हुनेमा विश्वास गर्न सकिँदैन ।
सरकारले प्रमुख राजनीतिक दलहरु सङ्ग निर्वाचनको वातावरण बनाउन सार्थक संवाद गरेर विश्वसनीय वातावरण बनाउने जाँगर प्रदर्शन गरेको छैन । उल्टो सम्पूर्ण राजनीतिक दलमा विवाद र द्वन्द सृजना गरेर अहिलेको संविधानलाई असान्दर्भिक बनाउन कम्मर कसेर लागेको पो हो कि भन्ने आशङ्का उब्जिएको छ । अहिले देशी /विदेशी शक्तिहरू सम्पूर्ण राजनीतिक दलमा विग्रह उत्पन्न गराएर आफ्नो मनशाय पूरा गर्न लागिपरेको आभाष हुँदैछ । जनताका प्रतिनिधिहरूले संविधानसभाका माध्यमबाट निर्माण गरेको संविधान नै देशमा कार्यान्वयन हुन सकेन भने भोलि बन्ने तथाकथित कुन संविधानले देशमा स्थायित्व प्राप्त गर्छ ? ठूलो प्रश्न जनताका बीचमा उठिरहेको छ।
अहिले प्रत्येक राजनीतिक दलहरुमा नेतृत्व विरुद्ध द्वन्द सृजना गरेर दलहरुलाई अनिर्णयको बन्दि बनाएर धमिलो पानीमा माछा मार्न खोजेको त होइन भन्ने आशङ्का गर्ने प्रशस्त दृष्टान्त देखिन थालेको छ। अहिले प्रत्येक राजनीतिक दलका नेता कार्यकर्ताले आफ्नो आन्तरिक एकतालाई मजबुत बनाउँदै भाद्र २३/२४ को घटना र त्यसले उत्पन्न गरेको मौजूदा परिस्थितिका बारेमा ठोस दृष्टिकोण प्रष्ट पारेर आफ्नो संगठन मजबुत बनाउन लाग्नु नै समयको माग हो।