नेपालमा पश्चिमी वायु र अरब सागरबाट विकसित प्रणालीका कारण पश्चिम नेपाल प्रभावित भइरहेका बेला पुनः बङ्गालको खाडीबाट मन्था चक्रवातको असर देखिन लागेपछि आज विपद् प्राधिकरणले नागरिकका लागि सात बुँदे अनुरोध जारी गरेको छ ।
उक्त चक्रवातका कारण कोशी प्रदेश, बागमती प्रदेश र मधेश प्रदेशमा वर्षा र हिमपात गराउने जल तथा मौसम विज्ञान विभागबाट आज विशेष बुलेटिन जारी भएलगत्तै साँझ राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले नागरिकहरूमा सचेतनाका लागि सात बुँदे अनुरोध सार्वजनिक गरेको हो । प्राधिकरणकी प्रवक्ता शान्ति महतका अनुसार उक्त प्रणालीको असर रहुञ्जेल सकेसम्म यात्रा नगर्न र तातो भएर बस्न तथा आवश्यक मौसमी सूचनाबारे जानकारी लिएर कार्य गर्न अनुरोध गर्नुभएको छ ।
यस्तो छ सात बुँदे अनुरोध :
- अत्यन्त जरुरी नभइ सकेसम्म यात्रा नगर्ने ।
- डुबान हुनसक्ने बस्तीका बासिन्दाले उँचो (अग्लो) र सुरक्षित स्थानबारे जानकारी लिने र अरुलाई पनि जानकारी दिने ।
- आवश्यक पर्नासाथ सुरक्षित स्थानमा जाने।
- प्रभावित हुनसक्ने नदी किनाराका बासिन्दा सतर्क भइराख्ने ।
- जोखिम देखिए सुरक्षित स्थानमा सर्ने ।
- धान तथा अन्यबाली नकाट्ने, काटेको भए तत्काल भित्र्याउने ।
- प्रभावित हुनसक्ने जिल्लाका विपद् व्यवस्थापन समिति एवं सुरक्षा समितिले आवश्यकताअनुसार सवारी आवागमनबारे निर्णय गर्ने । सोको पालना गर्ने, गराउने ।