संयुक्त राष्ट्रसङ्घद्वारा लेबनानमा राष्ट्रसङ्घका शान्ति सेना माथि भएको इजरायली आक्रमणको निन्दा
Pulse Khabar मंगलबार, कार्तिक ११, २०८२
संयुक्त राष्ट्र सङ्घ र फ्रान्सले दक्षिणी लेबनानमा संयुक्त राष्ट्रसङ्घको शान्ति सेनामाथि भएको इजरायली आक्रमणको निन्दा गर्दै घटनाले अन्तर्राष्ट्रिय कानुन र युद्धविरामको गम्भीर उल्लङ्घन गरेको बताएको अल जजिराले जनाएको छ । संयुक्त राष्ट्रसङ्घका प्रवक्ता स्टेफन डुजारिकले सीमावर्ती सहर कफर नजिकै भएको आक्रमणमा इजरायली ड्रोनले शान्ति सेनाको गस्ती नजिकै ग्रेनेड खसाली शान्तिसेनामाथी ट्याङ्क फायर गरेएको जनाउनु भएको छ ।
डुजारिकले विभिन्न बाहानामा शान्ति सेनाले बारम्बार इजरायली आक्रमणमको सामना गर्नु परेको बताउनु भएको छ । लेबनानमा संयुक्त राष्ट्रको शान्ति सेना लेबनानी सेनाको साथमा इजरायल र लेबनानी सशस्त्र समूह हेजबुल्लाहबीच युद्धविराम कायम राख्न सङ्घर्षरत छन् यद्यपि, इजरायली सेनाले निरन्तर युद्धविराम उल्लङ्घन गरी आक्रमण गरेको अल जजिराले जनाएको छ । यसै बीच फ्रान्सको युरोप र विदेश मामिला मन्त्रालयले अक्टोबर– १,२ र ११ मा भएका घटनाहरू उल्लेख गर्दै शान्तिसेना लक्षित इजरायली आक्रमणकोे निन्दा गरेको छ ।
इजरायलले दक्षिणी लेबनानमा विभिन्न स्थानहरू कब्जा गर्न युद्धविरामको उल्लङ्घन गर्दै निरन्तर आक्रमणहरू गरेको छ । यसै विच सोमबार टायर जिल्लाको अल–बाय्याद गाउँमा भएको इजरायली अक्रमणमा दुई दाजु भाइको मृत्यु भएको बताइएको छ । इजरायली सेनाले आफ्नो पछिल्लो आक्रमणले हेजबुल्लाहको हतियार भण्डारणलाई लक्षित गरेको दाबी गरेको छ । लेबनानी अधिकारीहरूले इजरायलले मेसिनरी र निर्माण उपकरणसहित नागरिक पूर्वाधारमा आक्रमण गरेर पुनः निर्माणमा बाधा पुर्याएको आरोप लगाएका छन् । इजरायली आक्रमणमा ठुलो क्षति बेहोरेको हेजबुल्लाहले आफ्नो रक्षा गर्न तयार रहेको हेजबुल्लाहका नेता नईम कासिमले बताउनु भएको छ ।
यसैबीच, मध्यपूर्वका अमेरिकी दूत मोर्गन ओर्टागस लेबनानी नेताहरूसँगको बैठकका लागि सोमबार बेरुत आइपुग्नु भएको छ भने वासिङ्टनले हेजबुल्लाहलाई निरस्त्रीकरणका साथै राष्ट्रिय सेनामा एकीकृत हुन निरन्तर आह्वान गरिरहेको छ ।