०२ कार्तिक २०८२, आइतबार

केन्द्रीय समितिको म्याद थप्न नहुने कांग्रेस विशेष महाधिवेशन पक्षधरको माग

Logo
Pulse Khabar आइतबार, कार्तिक ०२, २०८२

काठमाडौँ: नेपाली कांग्रेसमा विशेष महाधिवेशन पक्षधरले केन्द्रीय समितिको म्याद थप्न नहुने माग गरेका छन् । पार्टीका नेता गुरु घिमिरे, मनोजमणि आचार्य, देवराज चालिसेलगायतले आज यहाँ पत्रकार सम्मेलन गरी कुनै पनि अवस्थामा केन्द्रीय समितिको म्याद थप्न नहुने बताउनुभएको हो ।

पार्टीको वर्तमान नेतृत्वले अनावश्यक रूपमा केन्द्रीय कार्यसमितिको बैठक लम्ब्याउने, ढिलो गर्ने र नियमित प्रक्रियामा महाधिवेशन नगरी नेतृत्वमा बसिरहने अस्वाभाविक र अलोकतान्त्रिक अभ्यास गरिरहेको उहाँहरूको आरोप छ ।

असोज २८ देखि प्रारम्भ भएको केन्द्रीय समिति बैठक शनिबारसम्म बसेर फेरि छठपछि अर्थात् कात्तिक १३ गतेका लागि बोलाइएको छ । पत्रकार सम्मेलनमा वक्ताहरूले बैठक विनाकारण लम्ब्याउने, ढिला गर्ने र आगामी बैठक पनि कहिले सम्पन्न हुने भनेर टुङ्गो नभएकाले वर्तमान कार्यसमितिको मनसाय नै समयमा नियमित महाधिवेशन नगर्ने र म्याद थप्नतर्फ उद्धत रहेको आरोप लगाउनुभयो ।

नेता आचार्यले वर्तमान केन्द्रीय कार्यसमितिको यस्तो प्रवृत्ति आपत्तिजनक रहेको र समयमा नियमित महाधिवेशन नगर्ने मनसायसहित यस्तो कार्य भइरहेको आरोप लगाउनुभयो । “राष्ट्रिय राजनीति अत्यन्त तीव्रताका साथ अगाडि बढिरहेको छ । यस्तो बेला तत्काल देशको अवस्थाअनुसार निर्णय दिनुपर्ने थियो, तर विलम्ब गर्ने, अल्मलिने र पार्टीको नयाँ नेतृत्व चयन गर्न ढिलाइ गर्न खोजिएको छ । यो गलत छ । यस्तो छुट कसैलाई छैन”, उहाँले भन्नुभयो,“आगामी फागुन २१ गते घोषित प्रतिनिधिसभाको निर्वाचनअगावै पार्टी महाधिवेशनमार्फत नयाँ नेतृत्व चयन गरी आगामी चुनावमा जानुको विकल्प छैन । राष्ट्रिय आवश्यकता महसुस गरी विशेष महाधिवेशन माग गरेका छौँ । यसको सुनुवाइ हुनुपर्छ ।”

पार्टी नेता घिमिरेले केन्द्रीय कार्यसमितिले अस्वाभाविक रूपमा कार्यसमिति बैठक लम्ब्याएको आरोप लगाउनुभयो । उहाँले कार्यसमितिको बैठक अस्वाभाविक रूपमा लम्ब्याइएको भन्दै केन्द्रीय कार्यसमिति महाधिवेशनभन्दा ठूलो नभएकाले महाधिवेशन प्रतिनिधिको आदेशलाई पालना गर्नुपर्नेमा जोड दिनुभयो ।

“विभिन्न राजनीतिक दल र कम्युनिष्ट पार्टीले आगामी मङ्सिरमा महाधिवेशन गर्ने निर्णय गरिसकेका छन् । आफूलाई विश्वको प्रजातान्त्रिक आन्दोलनको नमुना पार्टी भनेर दाबी गर्छौं, उचित निर्णय गरेर देशलाई निकास दिनुपर्नेमा हामी अल्मलिरहेका छौँ, हामीलाई केले रोक्यो ?”, घिमिरेले प्रश्न गर्नुभयो ।

उहाँहरूले विधानअनुसार वर्तमान कार्यसमितिले महाधिवेशन गर्नुपर्ने र बहुसङ्ख्यम महाधिवेशन प्रतिनिधिको मतको कदर गर्नुपर्नेमा जोड दिनुभयो ।

प्रतिक्रिया
हाम्रो बारे

पल्सखबर प्रालिद्वारा संचालित www.pulsekhabar.com

सर्वाधिकार सुरक्षित |

टीमहरु

कार्यकारी निर्देशक : नवलप्रसाद उपाध्याय

सम्पादक  : नविन पहाडी

कार्यकारी सम्पादक : शशांक पौडेल

बजार व्यवस्थापक :संजोग पौडेल

 

 

सम्पर्क

विराटनगर – ५ ,कोशी प्रदेश,नेपाल |

9842023757

Email: [email protected]

[email protected]

बिज्ञापनको लागी:

9862006206