

काठमाडौं । तीन मन्त्रीको राजीनामा माग्दै संसदमा हरेक दिन आवाज उठाउँदै आएको प्रमुख प्रतिपक्षी नेकपा एमालेले माग सम्बोधन गर्न प्रधानमन्त्री पुष्पकमल दाहाललाई तीन दिनको समय दिएको छ । आज विपक्षी दलहरुको अवरोधका कारण स्थगित भएको संसद सुचारु भएपछि विशेष समय लिएर बोलेका एमाले सचेतक महेश बर्तौलाले ६ फागुनको बैठकदेखि प्रतिपक्षी दलहरुले उठाएको विषयमा सरकारले जवाफ दिनुपर्ने बताउनुभयो ।
संसदले बनाएको तालिका अनुसार १३ वा १४ गते संसद बैठक बस्ने भन्दै उहाँले प्रधानमन्त्रीले समय छानेर बैठकमा उपस्थित भएर प्रतिपक्ष बेञ्चबाट उठाएको सवाल सम्बोधन गर्न माग गर्नुभयो । विपक्षी दलहरुले बालकुमारी घटनाको जाँचबुझ आयोगले दोषी देखाएका भौतिक पूर्वाधारमन्त्री प्रकाश ज्वालाको राजीनामा मागेको छ । एमालेले ज्वालासँगै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बयान लिएका स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहन बस्नेतको र संस्कृतिमन्त्री सुदन किराँतीकोसमेत राजीनामा मागेको छ ।
एमाले सचेतक बर्तौलाले संसदको आगामी बैठकमा मन्त्रीहरुलाई बर्खास्त गरेर आएको छु भन्ने जवाफसहित आउन प्रधानमन्त्रीलाई आग्रह गनुभयो । संसदलाई छलेर भाग्दै हिँडे नाकमा नत्थी लगाएर तान्ने उहाँको चेतावनी छ । बर्तौला बोलेपछि सदनलाई नियमित कार्यसूचीमा लैजाने क्रममा सभामुख देवराज घिमिरेले संसदको पछिल्लो बैठकमा उठेका विषयमा जवाफ दिन सरकारलाई रुलिङ गरेका छन् ।