३१ आश्विन २०८२, शुक्रबार

दसैँ सुरु भएसँगै लेकबाट बेसी झर्न थाले भेडीगोठ

Logo
Pulse Khabar बुधबार, आश्विन ०८, २०८२

बागलुङ । दसैँ नजिकिएसँगै बागलुङसहित आसपासका लेक क्षेत्रमा रहेका गोठालाहरु भेडा–बाख्रा लिएर बेसी झर्न थालेका छन् । जेठको दोस्रो सातादेखि लेक उक्लिएका उनीहरु घटस्थापनासँगै बेसी फर्किन थालेका हुन् ।

चार महिनादेखि परिवारबाट टाढा रहेका गोठालाहरु अब जेठसम्म बेसीमै बस्ने छन् । निसीखोला, ढोरपाटन, तमानखोलालगायत क्षेत्रका किसान वर्खामा वस्तुभाउ लिएर ३ हजारदेखि ४ हजार ५ सय मिटर उचाइमा पुगेका थिए । अहिले लेक चिसिन थालेपछि उनीहरु तल झर्न थालेका हुन् ।

लेकबाट झरेपछि बेसी क्षेत्रमा गोठालाको चहलपहल बढेको छ । दशैँमा भेडा–च्याङ्ग्रा बिक्री गरेर खर्च जोहो गर्ने उनीहरुको परम्परा रहेको छ । पश्चिम बागलुङका धेरै किसानले दुई सयदेखि हजारभन्दा बढी भेडा–बाख्रा पालेका छन् ।

निसीखोला–६ का कुमानसिंह विश्वकर्मा तीन महिना २३ दिनपछि दुई सय भेडा लिएर बेसी फर्किएका छन् । “हाम्रा बाउबाजेले गरेको पेशा निरन्तरता दिइरहेका छौँ, तर अबका पुस्ताले गोठालागिरी गर्न चाहेका छैनन्,” उनले भने ।

त्यस्तै, ढोरपाटन–९ का तुलबहादुर पुन ४० वर्षदेखि लेक–बेसी गरेरै वस्तुभाउ पाल्दै आएका छन् । असार ३ गते बुकीपाटन पुगेका उनी घटस्थापनासँगै बेसी झरेका हुन् । “दसैँ छाडेर कात्तिकसम्म लेकमा बस्दैनौँ, जाडो बढेपछि भेडा मर्छन्,” उनले बताए ।

गोठालाहरु अहिले बजारतर्फ लाग्ने तयारीमा छन् । कसैले भेडा–बाख्रा लिएर बुर्तिवाङ, रिडी हुँदै बुटवलसम्म जाने तयारी गरेका छन् भने कोही गलकोट, बागलुङ हुँदै पोखरासम्म पुग्ने योजना बनाइरहेका छन् ।

लेकबाट बेसी झरेसँगै तल्लो क्षेत्रमा चहलपहल बढेको छ। यसले दसैँको माहोल झनै रौनकिलो बनाएको छ ।

प्रतिक्रिया
हाम्रो बारे

पल्सखबर प्रालिद्वारा संचालित www.pulsekhabar.com

सर्वाधिकार सुरक्षित |

टीमहरु

कार्यकारी निर्देशक : नवलप्रसाद उपाध्याय

सम्पादक  : नविन पहाडी

कार्यकारी सम्पादक : शशांक पौडेल

बजार व्यवस्थापक :संजोग पौडेल

 

 

सम्पर्क

विराटनगर – ५ ,कोशी प्रदेश,नेपाल |

9842023757

Email: [email protected]

[email protected]

बिज्ञापनको लागी:

9862006206