

धनगढी । द्वन्द्वकालको विस्फोटक पदार्थ विष्फोट हुँदा कैलालीको चुरेमा चार जना घाइते भएका छन् । प्रहरीका अनुसार घाइते मध्ये दुई जना गम्भीर रहेको छ। आज कैलालीको चुरे गाउँपालिका ३ मा जेसिबीले भीमदत्त राजमार्ग अन्तर्गत सडक मर्मत एवं चौडा गर्ने क्रममा विस्फोट भएको हो ।
बीस्फोटक पदार्थ पड्किदा जेसिबी चालकसहित ४ जना घाइते भएको कैलालीका प्रमुख प्रहरी उपरीक्षक पदमबहादुर बिष्टले बताउनुभयो । उहाँका अनुसार घाइते मध्ये दुई जनाको अवस्था गम्भीर रहेको छ । घाइते सबैको धनगढीको माया मेट्रो अस्पतालमा उपचार भइरहेको छ ।
घाइते हुनेमा कैलालीका ४५ वर्षीय वसन्त खडायत, सुर्खेतका २२ वर्षीय हिरा थापा र कञ्चनपुरका नवीन देव अवस्थी छन् । एक जनाको पहिचान खुल्न सकेको छैन् । विस्फोटक पदार्थ सशस्त्र द्वन्दका बेला राखिएको हुनसक्ने प्रहरीले अनुमान गरेको छ ।