

सावधान ! होशियार रहौँ । सबै मिलेर लोकतन्त्र जोगाउन संवैधानिक रक्षामा सचेत बनौँ ।
सुशासनका लागि दबाब सिर्जना गर्न गरिएको शान्तिपूर्ण प्रदर्शनमा बारम्बार दमन र घुसपैठ हुनु, राज्यका महत्वपूर्ण संरचनाहरू खरानी बनाउनु, मन्त्री र नेताहरुलाई तुरुन्तै सेनाले ब्यारेकमा लगेर नजरबन्द गर्नु, आफ्नै परमाधिपतिको सुरक्षामा वेवास्ता गर्दै उनलाई समेत नजरबन्द गर्नु — यी सबै गम्भीर कार्य हुन् ।
राष्ट्रका नाममा परमाधिपति (राष्ट्रपति) होइन, सेनाप्रमुखले जंगी अड्डाबाट वक्तव्य दिनु, त्यो पनि परमाधिपतिको फोटो हटाएर गर्नु; गणतन्त्र विरोधी दुर्गा प्रसाईलाई महत्व दिई भेट्नु र फोटो सार्वजनिक गर्नु; जेनजीहरूलाई प्रसाई र राप्रपालाई वार्तामा राख्न भनाइ दिनु; सुरक्षा बैठकमा सेनाप्रमुखले राष्ट्रपतिको राजीनामा माग्नु; जेनजीहरूले नाम टुंगो नलगाई नेपालको भावी प्रधानमन्त्री शुसिला कार्की भनेर समाचार छ्यापछ्याप्ती आउनु; अन्तरिम सरकार गठनमा सेनाले उल्झन सिर्जना गर्दै ‘पर्ख र हेर’को रणनीति लिनु; जेनजीहरूले अधिकार होइन दया माग्न जंगी अड्डामा पुग्नु, झगडा गर्नु अनि सेनाले हेपाहा शैलीमा माइकिङ गर्दै फर्काउनु — यी सबै घटनाहरूले के संकेत गर्छन् ?
अब गणतन्त्र हरण त भैरहेको छैन ? होशियार रहनुहोस्, जेनजीहरू । यो संविधान मासिएर गणतन्त्र गयो भने फेरि कहिल्यै सुशासनका लागि खुलेर दबाब सिर्जना गर्ने अवसर आउने छैन ।