इटहरीमा जेनजीको प्रदर्शनका क्रममा १२ जना सुरक्षाकर्मी घाइते
Pulse Khabar मंगलबार, भाद्र २४, २०८२
इनरुवा (सुनसरी), २४ भदौः सुनसरीको इटहरी उपमहानगरपालिकामा सोमबार जेनजी पुस्ताको प्रदर्शनका क्रममा प्रहरी र सर्वसाधारण घाइते भएका छन् । आन्दोलनका क्रममा भीड अनियन्त्रित भएपछि प्रहरीमाथि ढुङ्गामुढा प्रहार भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक सुमनकुमार तिम्सिनाले जानकारी दिनुभयो । प्रहरीकोतर्फबाट अश्रुग्यास, हवाइफायर र जङ्गी राउण्डसमेत फायर भएको उहाँले बताउनुभयो । उहाँका अनुसार कुनकुन हतियारबाट के–कति फायर भएको भनी यकीन गर्न बाँकी छ । प्रदर्शनका क्रममा १२ जना सुरक्षाकर्मी घाइते भएका जनाउँदै १३ जना प्रदर्शनकारी प्रहरीको नियन्त्रणमा रहेका प्रहरी उपरीक्षक तिम्सिनाले जानकारी दिनुभयो ।
घटनामा इलाका प्रहरी कार्यालय इटहरीका प्रहरी नायब उपरीक्षक लक्ष्मी भण्डारी, प्रहरी सहायक निरीक्षक महेन्द्रप्रसाद यादव, प्रहरी निरीक्षक मेघराज अर्याल, प्रहरी निरीक्षक कोमल ठाकुर, प्रहरी नायब निरीक्षक सोमनाथ ढुङ्गाना, प्रहरी सहायक हवल्दार पुरुषोत्तम थानदार, प्रहरी जवान नितेशकुमार मण्डल, रवीन दर्जी घाइते भएका प्रहरी उपरीक्षक तिम्सिनाले जानकारी दिनुभयो । उहाँका अनुसार सशस्त्र प्रहरीतर्फ सञ्जय थोकर, कुसाङ सिंह सशाङ्क, सञ्जय थारु र सुशील थारु घाइते भएका छन् । प्रदर्शनका क्रममा दुई जनाका मृत्यु भएको प्रहरीले जनाएको छ । त्यसैगरी, प्रदर्शनका क्रममा मोरङ बूढीगङ्गा गाउँपालिका–७ का १९ का सान्तनु ढकाल, इटहरी–४ का १६ वर्षीय अनमोल पन्त, इटहरी–१० का १६ वर्षीया सम्झना विक, रामधुनी–८ का १६ वर्षीय आशिष चौधरी, १८ वर्षीय आदर्श चौधरी, इटहरी–५ का १६ वर्षीय विकुल साह घाइते भएका छन् । घाइते भएकाको विभिन्न अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
आन्दोलनका क्रममा धनकुटा छथर जोरपाटी गाउँपालिकाका २१ वर्षीय अङ्कीत भण्डारी, धनकुटा नगरपालिका–८ का २४ वर्षीय गोपी बस्नेत, महालक्ष्मी नगरपालिका–१ घर भई इटहरी–५ डेरा गरी बस्ने २९ वर्षीय रोशन कार्की, मोरङ सुन्दरहरैँचा–७ गोठगाउँका १९ वर्षीय कोमल मिश्र, सुनसरी धरान–१८ का १९ वर्षीय मानस राईलाई नियन्त्रणमा लिइएको प्रहरी उपरीक्षक तिम्सिनाले बताउनुभयो । मोरङ सुन्दरहरैँचा–१० की १३ वर्षीया युविका महत, मोरङ सुन्दरहरैँचा–१० का १६ वर्षीय सञ्जु छाला याख्खा, भोजपुर हतुवागढी गाउँपालिका–१ घर भई इटहरी–४ डेरा गरी बस्ने १९ वर्षीय प्रवेश राई, इटहरी–४ डेरा गरी बस्ने २६ वर्षीय आशकुमार राई, २१ वर्षीय भुपाल राई, झापा भद्रपुर घर भई इटहरी–९ मा डेरा गरी बस्ने मनोज आचार्य, धनकुटा महालक्ष्मी नगरपालिका–२ घर भई इटहरी–५ मा डेरा गरी बस्ने १७ वर्षीय सरोज बूढाथोकी र इटहरी–१७ का १६ वर्षीय सुशन खड्कालाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।