

खोटाङ । लगातार वर्षाका कारण हलेसी तुवाचुङ नगरपालिका–३ च्यास्मिटारमा आज बिहान पहिरो खस्दा जयराम–हलेसी सडकखण्ड पूर्णरूपमा अवरुद्ध भएको छ। करिब १०० मिटर सडक पुरिनेगरी खसेको पहिरोका कारण काठमाडौँ–तराई आवतजावत गर्ने सवारीसाधन र यात्रुहरू बीचमै रोकिएका छन् ।
सडक अबरुद्ध हुँदा विशेषगरी सावनको अन्तिम सोमबारका अवसरमा त्रिधार्मिकस्थल हलेसी बोलबम मेला भर्न आएका भक्तजन अलपत्र परेका छन् । जिल्ला प्रहरी कार्यालय खोटाङका निमित्त प्रमुख प्रहरी निरीक्षक सुशान्त मिश्रका अनुसार जयरामतर्फका गाडी त्यहीँ रोकिएका छन् । दिक्तेलतर्फका सवारी दुर्छिममा अड्किएका छन् ।
लगातारको वर्षा नरोकिएकाले पहिरो पन्छाउने काममा ढिलाइ भएको छ। हलेसी तुवाचुङ नगरपालिका र मध्यपहाडी लोकमार्ग आयोजनाका स्काभेटर परिचालन गरिएको भए पनि ढुङ्गा, माटो र रुखका थुप्रा हटाउन समय लाग्ने नगरप्रमुख विमला राईले जानकारी दिइन् ।
हिन्दु, बौद्ध र किराँत धर्मावलम्बीको संगमस्थल हलेसीमा लाग्ने बोलबम मेला भर्न नेपालका सबै जिल्ला तथा भारत, चीन, भूटानका भक्तजन आउने परम्परा छ । स्थानीय प्रशासनले यात्रा गर्नेहरूलाई सडक अवस्थाबारे जानकारी लिएर मात्र यात्रा गर्न आग्रह गरेको छ ।